Friday, July 1, 2011

पौडेलको अनुपस्थितिले संवैधानिक परिषदको बैठक स्थगित

अर्को बैठक २२ गते
काठमाडौं, १७ असार- चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तको सिफारिस गर्न शुक्रबार अपराह्न बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । परिषदका सदस्य प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल बिरामी भएको कारण देखाउँदै अनुपस्थित भएपछि बैठक स्थगित गर्नुपरेको हो ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष झलनाथ खनालले पौडेलले फोन सम्पर्क गरी बिरामी भएकाले आफू उपस्थित हुन नसक्ने भएकाले शुक्रबारको बैठक स्थगित गरी अर्को कुनै दिन बोलाउन आग्रह गरेको जानकारी परिषदका अरु सदस्यहरुलाई गराएका थिए । खनालले परिषदको कार्यविधिअनुसार प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा पहिलो बैठकबाट निर्णय लिन नमिल्ने भन्दै छलफल स्थगित गरेका थिए ।
परिषदको अर्को बैठक असार २२ गते अपराह्न ५ बजेका लागि बोलाइएको छ । 'परिषदको बैठक विषयमा प्रवेशै नगरी स्थगित भयो प्रमुख प्रतिपक्षी दलका नेताले आफू बिरामी भएको कारणले उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएकाले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा पहिलो बैठकबाट निर्णय लिने कुरा भएन त्यसैले बैठक स्थगित गरिएको हो' सभामुख सुवास नेम्वाङले संवाददाताहरुसित भने ।
बैठकका लागि अध्यक्ष प्रधानमन्त्री झलनाथ खनाल परिषदका सदस्यहरु प्रधानन्यायाधीश खिलराज रेग्मी सभामुख सुवास नेम्वाङ उपप्रधानमन्त्री कृष्णबहादुर महरा मन्त्रीद्वय विष्णु पौडेल र सुनिल मानन्धर मन्त्रिपरिषद सचिवालयमा समयमै उपस्थित भइसकेका थिए ।
संवैधानिक निकायमा पदाधिकारी नियुक्तिबारे प्रमुख तीन दल माओवादी कांग्रेस र एमालेबीच सहमति नभइसकेकाले प्रमुख प्रतिपक्षी दलका नेता पौडेलले बिरामीको बहानामा बैठकमा अनुपस्थित भएको स्रोतले उल्लेख गरेको छ । प्रमुख तीनवटै दल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडानमा छन् त्यही विषयमा सहमति नभएकाले बैठक स्थगित गर्नुपरेको स्रोतले उल्लेख गरेको छ ।
परिषदको बैठक प्रमुख चार संवैधानिक निकाय अख्तियार महालेखा परिक्षकको कार्यालय लोकसेवा आयोग र निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न बोलाइएको हो । अख्तियार महालेखा लोकसेवा र निर्वाचन आयोग चारवटै प्रमुखविहीन छन् । अझ अख्तियारमा प्रमुख आयुक्तमात्र होइन सबै आयुक्त पद रिक्त छन् । अख्तियारमा २०६३ कात्तिक १७ देखि प्रमुख र दुई आयुक्त पद रिक्त भएका थिए भने २०६६ पुसदेखि अख्तियारका सबै आयुक्त पद रिक्त भएका हुन् । महालेखामा २०६३ पुस निर्वाचन आयोग र लोकसेवा आयोगमा ०६५ देखि प्रमुख पद रिक्त छन् ।

No comments:

Post a Comment