Thursday, July 14, 2011

लेखा समितिद्वारा प्रधानमन्त्रीद्वारा वितरित सहायताको विवरण माग

काठमाडौं, ३० असार- सरकारले पछिल्ला दुई प्रधानमन्त्रीबाट आफ्नो पार्टी एमालेका नेता तथा कार्यकर्तालाई हचुवाका भरमा ठूलो रकम आर्थिक सहायता वितरण हुँदै आएकामा सार्वजनिक लेखा समितिले सरकारसित स्पष्टीकरण मागेको छ । लेखा समितिको बैठकले पछिल्लो दुई वर्षमा तत्कालीन र वर्तमान प्रधानमन्त्रीबाट कस-कसलाई कति रकमका दरले आर्थिक सहायता बाँडिएको छ १० दिनभित्र सहायता पाउनेको नामनामेसीसहितको विवरण आफूलाई बुझाउन निर्देशन दिएको छ ।
लेखा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बिहीबार पत्र पठाई आर्थिक सहायता दिनुपर्नाको कारणसहितको विवरण उपलब्ध गराउन निर्देश गरेको छ । पछिल्ला दुई वर्षमा सुरुमा एमालेका नेताद्वय माधवकुमार नेपाल र हाल झलनाथ खनाल प्रधानमन्त्री छन् । प्रधानमन्त्री सहायता कोषबाट हचुवाका भरमा आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको समाचार प्रकाशित तथा प्रसारित भएपछि लेखा समितिले त्यसमा दुरुपयोग भएको आशंका गरी छानबिन गर्न विवरण मागेको हो ।
प्रधानमन्त्री खनालले माघ २० मा पद बहाली गरेयता २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडिसकेका छन् भने चालू आर्थिक वर्षमा तत्कालीन प्रधानमन्त्री नेपालले साउनदेखि माघ १९ सम्म ४८ लाख र अघिल्लो आ।व। मा ८० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार नेपाल र खनाल दुवैले आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई बढीमा जनही ७५ हजार र घटीमा १० हजार रुपैयाँ आर्थिक सहायता दिएका छन् । हैसियतवाला केन्द्रीय तथा जिल्ला नेतालाई ७५ हजार र सामान्य कार्यकर्तालाई कम्तीमा १० हजारसम्म आर्थिक सहायता दिइएको छ ।

No comments:

Post a Comment