Friday, July 29, 2011

सशस्त्रमा श्रेष्ठ, प्राधिकरणमा शर्मा नियुक्त

काठमाडौं, १३ असार- सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्रकुमार श्रेष्ठलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बलका वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षकलाई आइतबारदेखि लागू हुने गरी महानिरीक्षकमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।
महानिरीक्षक किशोर लामाको १४ दिने कार्यकाल शुक्रबारदेखि सकिएकाले श्रेष्ठलाई बलको प्रमुखमा बढुवा गरिएको हो । श्रेष्ठ पनि जम्मा नौ महिना महानिरीक्षक रहनेछन् । त्यसपछि ठाकुरमोहन श्रेष्ठ या किशोरराज वन्तमध्ये एकलाई सरकारले महानिरीक्षकमा बढुवा गर्नेछ ।
यसैबीच सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा खुल्ला प्रतिस्पर्धाबाट चार वर्षका लागि शान्ति मन्त्रालयका सहसचिव सिभिल इन्जिनियरिङ समूह दिपेन्द्रनाथ शर्मालाई नियुक्त गरेको छ । शर्मा ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक थिए । उनी प्रधानमन्त्री झलनाथ खनालका गृह जिल्लाबासीसमेत हुन् । पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोकत्वमा गठित समितिले २० जना प्रतिस्पर्धीमध्येबाट शर्मालाई छनौट गरेको हो । मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसमा ऊर्जा मन्त्रालयले गरेको प्रस्तावअनुसार उनलाई कार्यकारी निर्देशक छनौट गरेको हो ।
ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशकका लागि दुईपटक आह्वान गरेको विज्ञापनमा २० जनाले प्रस्ताव हालेका थिए । समितिले २० जनामध्येबाट पाँच जना प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामेश्वर यादव, महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठ, विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशवध्वज अधिकारी र शान्तिका शर्मालाई सर्ट लिस्टिङ गरेको थियो । ती पाँच जनालाई समितिले बुधबार र बिहीबार विद्युत् प्राधिकरणको समस्या समाधान र सुधारसम्बन्धी प्रस्ताव पेस गर्न लगाएको थियो । प्रस्ताव हेरेपछि समितिले शर्मालाई कार्यकारी निर्देशकका लागि छनौट गरेको हो ।

No comments:

Post a Comment