Tuesday, July 5, 2011

प्रधानमन्त्रीद्वारा आफ्ना कार्यकर्तालाई २५ लाख सहायता वितरण

काठमाडौं, २१ असार- प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी एमालेका नेता तथा कार्यकर्तालाई २५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेका छन् । खनालले प्रधानमन्त्री भएको पाँच महिनामा उक्त परिमाणमा सहयोग वितरण गरेका हुन् । खनाल माघ २० मा प्रधानमन्त्री भएका हुन् ।
खनालले आफ्नो तजबिजीमा प्रधानमन्त्री सहायता कोषबाट आफ्ना पार्टीका मान्छेलाई बढीमा ७५ हजारदेखि घटीमा १० हजार रुपैयाँसम्म आर्थिक सहायता वितरण गर्ने गरेको जानकारी स्रोतले बताए । हैसियत भएका केन्द्रीय तथा जिल्ला नेतालाई ७५ हजार रुपैयाँ र अरु सामान्य कार्यकर्तालाई १० हजार दिने गरिएको छ ।
पार्टी कार्यकर्ताले पैसाको अभावमा स्वास्थ्योपचार गराउन नसकेको भन्दै आर्थिक सहायता माग्ने गरेका छन् । स्रोतका अनुसार आर्थिक सहायता पाउनेमा एमालेका नेता तथा कार्यकर्तामात्र छन् अरु दलका कार्यकर्ता र सर्वसाधारण छैनन् ।
खनालले आर्थिक सहायता वितरण गर्ने अख्तियारी आफ्ना प्रमुख स्वकीयसचिव दीपकचन्द्र अमात्यलाई दिएका छन् । प्रधानमन्त्रीको आदेशमा अमात्यले सहायता रकमको अंक तोकी तोक लगाएर वितरण गर्ने गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा आर्थिक सहायता लिन आउने कार्यकर्ताको भीड लाग्ने गरेको छ । 'प्रधानमन्त्री आउँदा आर्थिक सहायता माग्न आउनको भीड लाग्छ खनाल नआएका बेला प्रधानमन्त्री कार्यालयमा बाहिरी मान्छेको आवतजावतै घट्छ' मन्त्रिपरिषद सचिवालयका एक अधिकारीले कान्तिपुरसित भने ।
यसअघिका प्रधानमन्त्रीले एउटा खेस्रा निवेदनका भरमा मात्र आर्थिक सहायता वितरण गर्थे हाल प्रधानमन्त्री कार्यालयले स्वास्थ्योपचार गरेको खर्चको बिलसहितको निवेदन हेरेरमात्र आर्थिक सहायता वितरण गर्ने गरेको छ ।
खनाल आर्थिक सहायता वितरणमा आफ्नै पार्टीका निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालभन्दा केही पछि छन् । तत्कालीन प्रधानमन्त्री नेपालले यही आर्थिक वर्षको साउनदेखि माघ १९ सम्ममा ४८ लाख र अघिल्लो आर्थिक वर्षमा ८० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेका थिए ।

No comments:

Post a Comment