Sunday, July 17, 2011

एआईजी लामालाई कामु महानिरीक्षकको जिम्मेवारी

काठमाडौं, १ साउन- सरकारले सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी किशोरकुमार लामालाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको आइतबार अपराह्न बसेको बैठकले वरिष्ठ एआईजी लामालाई कायममुकायम महानिरीक्षकमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले असार ३१ मा तीसवर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त भएको थियो । लामाको पदावधि १४ दिनमात्र बाँकी रहेकाले उनलाई कन्फर्म महानिरीक्षक नबनाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिइएको जानकारी मन्त्रिपरिषदको स्रोतले दिए । लामाले साउन १४ मा तीसवर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकास पाउँदैछन् ।
तुलाधरले भने लामालाई कायममुकायम बनाउनु वााछनीय देखिएकाले सरकारले त्यहीअनुसार निर्णय गरेको दाबी गरे । लामाले ३० वर्ष पूरा गरी साउन १४ मा अनिवार्य अवकास पाउँदैछन् । कायममुकायम मुकरर भएका लामाले आईजीपीकै फुली सेवा सेवा सुविधा पाउनेछन् ।
सरकारले लामाको अवकासपछि सशस्त्र प्रहरीमा एआईजी शैलेन्द्र श्रेष्ठ पनि थोरै समय महानिरीक्षक हुनेछन् । उनी लामापछिका वरिष्ठ एआईजी हुन् । ३० वर्ष सेवा अवधि पुग्न लागेका कारण उनी पनि आगामी फागुनसम्ममात्र महानिरीक्षक हुनेछन् ।
श्रेष्ठपछि एआईजीद्वय कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठमध्ये कसलाई महानिरीक्षक बनाउने भन्ने सम्बन्धमा विवाद रहेको छ । वन्त श्रेष्ठभन्दा वरिष्ठ हुन् तर उनी सशस्त्र प्रहरीभित्र बन्दुकै समात्न नपर्ने इन्जिनियरिङ सेवाका हुन् । गृह मन्त्रालयका एक अधिकारीका अनुसार बन्दुकै नबोकेको मान्छेलाई सुरक्षा संगठनको प्रमुख कसरी बनाउने भन्ने प्रश्न छ । वन्तलाई नबनाए वरिष्ठताका आधारमा ठाकुरमोहन महानिरीक्षक हुने जानकारी स्रोतले दिए । ठाकुरमोहन भने पूरै समय अर्थात् चारै वर्ष महानिरीक्षक हुने जानकारी स्रोतले दिए ।
राष्ट्रिय अनुसन्धानमा गुरुङ
गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा मोती गुरुङलाई बढुवा गर्न प्रस्ताव गरेको छ । विभागका प्रमुख अशोकदेव भट्टले असार ३० मा अनिवार्य अवकास पाएपछि मन्त्रालयले एआईजी सरहका वरिष्ठ गुरुङलाई बढुवा गर्न प्रस्ताव गरेको हो । तर मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा भने अनुसन्धान विभाग प्रमुखको बारेमा भने छलफल भएन ।

No comments:

Post a Comment