Wednesday, July 20, 2011

राष्ट्रिय अनुसन्धानमा गुरुङ, विभिन्न संस्थानमा नियुक्ति

दुई सचिवको सरुवा, कृषिमा झा, सूचनामा चौधरी
काठमाडौं, ४ साउन- सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख मुख्य अनुसन्धान निर्देशक मा मोतीबहादुर गुरुङलाई बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले विभागका सबभन्दा वरिष्ठ अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गुरुङलाई प्रमुखमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।
विभागका यसअघिका प्रमुख अशोकदेव भट्ट ३० वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
दुई सचिवको सरुवा
मन्त्रिपरिषदले दुई सचिवको सरुवा गरेको छ । कृषि मन्त्री हरिनारायण यादवको प्रस्तावमा मन्त्रिपरिषदले कृषि सचिव नाथुप्रसाद चौधरीलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरेको छ । आयोगका सचिव उमाकान्त झालाई कृषि सचिवमा सरुवा गरिएको छ ।
कृषि मन्त्री यादवले सचिव चौधरीमाथि आफूलाई असहयोग गरेको आरोप लगाउँदै उनलाई सरुवा गर्न प्रस्ताव राखेका हुन् । कृषिका अनुभवी प्राविधिक सचिव चौधरीलाई सूचनामा सरुवा गरी िसंचाइका प्राविधिक सचिव झालाई कृषि मन्त्रालयमा ल्याइएको हो । चौधरीसहित कृषिको अनुभव भएका हाल दुई जनामात्र सचिव छन् कृषिको अनुभव भएका अर्का सचिव गणेशराज जोशी पर्यटन मन्त्रालयमा छन् ।
परराष्ट्र सल्लाहकारमा ठाकुर
तुलाधरका अनुसार सरकारले परराष्ट्र मन्त्रालयको सल्लाहकारमा रामभक्त पीबी ठाकुरलाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयको सहसचिवबाट अवकास प्राप्त ठाकुर इजिप्टका लागि नेपालको राजदूतसमेत भएका थिए ।
घाइतेलाई सवा चार लाख
जनआन्दोलन २०६२÷६३ का घाइते सिन्धु उप्रेतीलाई उपचारका लागि ४ लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ । तुलाधरले नेपालका अस्पतालमा उपचाररत उप्रेतीलाई भारतमा गई थप उपचार गर्न उक्त रकम प्रदान गरिएको जानकारी दिए ।
खाद्य संस्थानमा साह, दुग्धमा दास
सरकारले खाद्य संस्थानको महाप्रबन्धकमा हरिनारायण साहलाई दुई वर्षका लागि नियुक्त गरेको छ । उनी यसअघि समेत संस्थानको महाप्रबन्धक थिए । यसैगरी मन्त्रिपरिषदले दुग्ध विकास समितिको अध्यक्षमा बिभा दासलाई नियुक्त गरेको छ ।
रेल्वे कम्पनीमा यादव
सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा सुरेश यादवलाई दुई वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदले कम्पनीका महाप्रबन्धक साजीव मल्लिकले दिएको राजिनामा स्वीकृत गरी यादवलाई नियुक्त गरेको हो ।

No comments:

Post a Comment