Friday, July 15, 2011

सरकारद्वारा थप ४१ नगरपालिका घोषणा

काठमाडौं, ३१ असार- सरकारले देशका विभिन्न भागका सहरोन्मुख ४१ वटा क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ । सरकारले स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८÷६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।
नगरपालिका घोषित भएकामा धेरैजसो जिल्ला सदरमुकाम छन् । एक महानगर पाँच उपमहानरसहित नगरपालिकाको संख्या अब ९९ वटा पुगेको छ । १ सय ६१ वटा सहरोन्मुख गाविसलाई समायोजन गरेर ४१ नगर घोषणा गरिएको हो । अब गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ वटा भएका छन् । सहरोन्मुख क्षेत्रलाई स्थानीय स्रोतसाधनको समुचित प्रयोग गरी स्थानीयस्तरबाटै विकासनिर्माणलाई तीव्रता दिन अधिकारसम्पन्न नगर घोषणा गरिएको हो स्थानीय स्वायत्त शासन ऐनले नगरलाई गाविसलाई भन्दा बढी अधिकार प्रदान गरेको छ ।
स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले सडक यातायात खानेपानी स्वास्थ्य टेलिफोन शिक्षाजस्ता भौतिक तथा सामाजिक पूर्वाधार पुगेको करदस्तुरबाट १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने र कम्तीमा २० हजार जनसंख्या भएको क्षेत्रलाई नगर घोषणा गरिएको जानकारी दिए ।
थपलियाका अनुसार हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगर घोषणा गर्दामात्र कम्तीमा १० हजार जनसंख्यालाई आधार बनाइएको छ । हिमाली जिल्लाको हकमा १० हजार जनसंख्यालाई नगरको मापदण्ड बनाइएको हो । प्राध्यापक सूर्यलाल अमात्यको अध्यक्षतामा गठित समितिको सिफारिसमा थप नगर घोषणा गरिएको हो ।
थपलियाका अनुसार ललितपुर तनहुँ धनुषा सप्तरी नवलपरासी र अछाम गरी छवटा जिल्लामा दुई÷दुईवटा नगरपालिका घोषणा गरिएको छ । ललितपुरमा कार्यविनायक र चम्पापुर तनहुँमा बन्दिपुर र खैरेनीटार-दुलेगौंडा धनुषामा धनुषाधाम र सखुवा-महेन्द्रनगर सप्तरीमा मोहनपुर-कल्याणपुर र काचनपुर-रुपनगर र नवलपरासीमा गैंडाकोट र सुनौल तथा अछामको मंगलसेन र साँफेबगर नगरपालिका घोषणा भएका छन् । अछामबाहेक बाँकी पाँच जिल्लामा नगरपालिकाको संख्या तीन÷तीनवटा पुगेको छ ।
घोषित थप नगरपालिकामा ताप्लेजुङको ताप्लेजुङ सदरमुकाम पाँचथरको सदरमुकाम फिदिम झापाको बिर्तामोड मोरङको उर्लाबारी तेह्रथुमको सदरमुकाम म्याङलुङ भोजपुरको भोजपुर सदरमुकाम खोटाङको सदरमुकाम दिक्तेल उदयपुरको कटारी सिराहाको रामनगर-मिर्चैया महोत्तरीको निगौला-गौशाला रामेछापको मन्थली सर्लाहीको हरिवन रौतहटको चन्द्रनिगाहपुर बाराको जितपुर छन् ।
त्यसैगरी सिन्धुपाल्चोकको चौतारा काभ्रेपलााचोकको पाँचखाल काठमाडौंको शंखरापुर धादिङको नीलकण्ठ सदरमुकाम लमजुङको लमजुङ बेंसीसहर पर्वतको सदरमुकाम कुस्मा म्याग्दीको सदरमुकाम बेनी गुल्मीको सदरमुकाम तम्घास अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क प्युठानको सदरमुकाम प्युठान खलंगा सल्यानको सदरमुकाम सल्यान खलंगा बाँकेको कोहलपुर बर्दियाको राजापुर बझाङको सदरमुकाम चैनपुर जुम्लाको सदरमुकाम चन्दननाथ छन् ।
थप घोषणापछि काभ्रे र झापामा चार÷चार तथा काठमाडौंमा तीन उदयपुर रौतहट सर्लाही मोरङ बाँके बर्दिया सिराहा महोत्तरीमा २÷२ वटा भएका छन् । पाँचखाल थपिएपछि काभ्रे र बिर्तामोड थपिएपछि झापामा नगरपालिकाको संख्या चार पुगेको हो ।
काठमाडौंको साँखुसहित क्षेत्रलाई शंखरापुर नगर घोषणा गरिएको हो । ललितपुरमा चापागाउँ क्षेत्रलाई चम्पापुर तथा सैंवु-भैसेपाटी क्षेत्रलाई कार्यविनायक नगरपालिका बनाइएको छ । नगरपालिका नभएका जिल्लामा मनाङ मुस्ताङ कर्णालीका चार दार्चुलासहित दर्जनभन्दा कम छन् ।

No comments:

Post a Comment