Wednesday, July 13, 2011

विश्व बैंक र एडीबीले साढे ११ अर्ब सहयोग दिने

काठमाडौं, २९ असार- विश्व बैंक र एसियाली विकास बैंक एडीबी ले नेपाललाई साँढे ११ अर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोग गर्ने भएका छन् । विश्व बैंकले विद्युत् प्रसारण लाइन विस्तार र एडीबीले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीको सुधारका लागि सहयोग गर्न लागेको जानकारी सरकारी अधिकारीले दिए ।
विश्व बैंकले हैटौंडादेखि दुहबीसम्म २ सय ९० किलोमिटर लामो चार सय केभीको प्रसारण लाइन निर्माण गर्न ६ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ सहयोग दिन लागेको हो । हैटौंडा-दुहबी प्रसारण लाइन नेपाल-भारतबीच प्रस्तावित निर्माणाधीन ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनको पुरक भाग हो । अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयात हुने बिजुली मुलुकको पूर्व-पश्चिम भागसम्म लान तथा नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट पछि उत्पादन हुने बिजुली मुलुकलाई बढी हुने भएमा निर्यात गर्ने उद्देश्यले हेटौंडा-दुहवी प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावित अन्तरदेशीय र हेटौंडा-दुहवी प्रसारण लाइनबाट १२ सय मेगावाटसम्म विद्युत् आयात-निर्यात गर्न सकिने ऊर्जाका अधिकारी बताउँछन् ।
एडीबीले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली सुधार गर्ने आयोजनाका लागि ५ अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । मेलम्ची आयोजनाको एक भागका रुपमा रहेको खानेपानी वितरण प्रणाली सुधारका लागि यसअघि गरेको प्रतिबद्धताअनुसार एडीबीले उक्त सहयोग गर्न लागेको हो । मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले एडीबीसित सहयोग लिन वार्ता अघि बढाउन भौतिक योजना मन्त्रालयका सहसचिव सुमनकुमार शर्माको संयोजकत्वमा टोली गठन गरेको छ । रक्षा मन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद्को बैठकपछि दुवै बैंकद्वारा प्रस्तावित सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

No comments:

Post a Comment