Saturday, July 9, 2011

कोइराला र सोसलिस्ट इन्टरनेसनलका महासचिवबीच भेटवार्ता

काठमाडौं, २५ असार- बेलायत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलासित भेटवार्ता गरेका छन् । सोसलिस्ट इन्टरनेसनल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरुको संगठन हो ।
लन्डनस्थित सोसलिस्ट इन्टरनेसनलको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा दुई नेताबीच नेपालको शान्ति प्रकि्रया र संविधान निर्माणका बारेमा छलफल भएको जानकारी भेटमा सहभागीलाई उद्धृत गर्दै बेलायतमा कार्यरत पत्रकार विपिन निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार आयलाले कोइरालासित नेपालमा शान्ति प्रकि्रया र संविधान निर्माणमा भइरहेको प्रगति र नेपालकै सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसले निर्वाह गरिरहेको भूमिकाका बारेमा चासो राखेका थिए ।
प्रत्युत्तरमा कोइरालाले कांग्रेसको प्राथमिकता सरकार नभई सशस्त्र द्वन्द्व छाडेर शान्ति प्रकि्रयामा आएको पार्टी माओवादीलाई हतियाररहित नागरिक पार्टी बनाई शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउनु रहेको बताएका थिए ।
आयलाले नेपालको शान्ति प्रकि्रया र संविधान निर्माण कार्य यथाशीघ्र टुंगोमा पुगोस् भन्ने शुभकामना व्यक्त गर्दै त्यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह गरेका थिए । कांग्रेस सोसलिस्ट इन्टरनेसनलको सदस्य पार्टी हो ।
आयलासितको भेटवार्तामा कोइरालाका अतिरिक्त उत्तर अमेरिकास्थित कांग्रेस जनसम्पर्क समितिकी नेतृ मृदुला कोइराला बेलायतस्थित कांग्रेसको जनसम्पर्क समितिका पदाधिकारीसमेत सहभागी थिए । कोइराला शनिबार बेलायतस्थित कांग्रेसको जनसम्पर्क समितिको कार्यक्रममा समेत व्यस्त छन् । उनी आइतबार दिल्ली हुँदै नेपाल फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment