Tuesday, July 5, 2011

अख्तियार प्रमुखमा तीनै दलको दाबी

माओवादीले रामकुमार, कांग्रेसले आचार्य, एमालेले श्रेष्ठको नाम प्रस्ताव
काठमाडौं, २१ असार- प्रमुख तीनवटै दल माओवादी कांग्रेस र एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आफ्नो पार्टीको सिफारिसमा नियुक्त हुनुपर्छ भनी दाबी गरेका छन् । अख्तियार प्रमुखमा तीन दलको हानाथापले चारवटा संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्तिका लागि सहमति हुन नसकेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार तीन दलबीच अख्तियारको पदाधिकारीका सम्बन्धमा पूर्व समझदारी नबनिसकेकाले संवैधानिक परिषदको बुधबार अपराह्न बोलाइएको बैठकबाट समेत संवैधानिक निकायमा नियुक्तिको सिफारिस हुन सक्ने सम्भावना कम छ । प्रमुख तीन दलको यही विवादले तीन वर्षभन्दा बढी समयदेखि अख्तियार र महालेखा परिक्षकको कार्यालय तथा दुई वर्षदेखि लोकसेवा र निर्वाचन आयोगमा पदाधिकारी रिक्त छन् ।
प्रधानमन्त्री झलनाथ खनाल अध्यक्ष रहेको परिषदमा प्रधानन्यायाधीश खिलराज रेग्मी सभामुख सुवास नेम्वाङ प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल उपप्रधानमन्त्री कृष्णबहादुर महरा मन्त्रीद्वय विष्णु पौडेल र सुनिल मानन्धर सदस्य छन् । तीन दलबीच अख्तियार प्रमुखमा समझदारी हुन नसकेकैले प्रतिपक्षी नेता पौडेल बिरामीको बहानामा अनुपस्थित भएका कारण गत शुक्रबार बोलाइएको परिषदको बैठक बुधबारका लागि सारिएको हो ।
अख्तियारमा सबै पदाधिकारी लोकसेवा निर्वाचन आयोग र महालेखा परिक्षकको कार्यालयमा प्रमुख पद लामो समयदेखि रिक्त छन् । तीन दलबीच चार संवैधानिक निकायमध्ये अख्तियार लोकसेवा र निर्वाचन आयोगलाई महत्वपूर्ण मानेर एक÷एकवटा बाँड्ने सहमति भए पनि अख्तियारमा कुन पार्टीको सिफारिसमा नियुक्त गर्ने भन्ने सवालमा भने समझदारी हुन बाँकी छ ।
तीनमध्ये दुई दलले अख्तियार छाड्न तयार भएमात्र बुधबारको बैठकबाट संवैधानिक नियुक्तको सिफारिस हुन सक्नेछ । कांग्रेसले सार्वजनिक पदाधिकारीले गर्ने अख्तियार दुरुपयोग र भ्रष्टाचारको अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्ने निकाय अख्तियारमा विपक्षीको सिफारिसमा प्रमुख नियुक्त हुनुपर्ने र अरु आयुक्त तीन दलको भागबण्डा मिलाएर सिफारिस गर्नुपर्ने अडान राखेको छ । सत्तारुढ माओवादी र एमाले पनि अख्तियार प्रमुख आफ्नो पार्टीको सिफारिसमा नियुक्त हुनुपर्ने अडानमा अडिग छन् ।
अख्तियार प्रमुखका लागि तीनवटै दललाई तीन पूर्वसचिवलाई आ-आफ्ना उम्मेदवारका रुपमा अघि सारेका छन् । अख्तियार प्रमुखमा माओवादीले रामकुमार श्रेष्ठ कांग्रेसले बाबुराम आचार्य र एमालेले उदय नेपाली श्रेष्ठलाई अघि सारेका छन् ।
माओवादी र एमालेले अख्तियार प्रमुखका अतिरिक्त अर्को एक÷एकवटा संवैधानिक निकाय प्रमुख मागेकाले पनि सहमति बन्न गाह्रो परेको संवैधानिक परिषद सचिवालय स्रोतले उल्लेख गरेको छ । माओवादी लोकसेवाकी कार्यवाहक अध्यक्ष कयोंदेवी यादवलाई र एमाले निर्वाचन आयोगका कार्यवाहक अध्यक्ष नीलकण्ठ उप्रेतीलाई कन्फर्म बनाउने पक्षमा छन् । कांग्रेसले पूर्व अर्थसचिव भानु आचार्यलाई महालेखा परिक्षकका रुपमा अघि सारेको छ । तर अख्तियार प्रमुख पाएमा कांग्रेस महालेखा परिक्षक पद छाड्न तयार रहेको स्रोतले उल्लेख गरेको छ ।
अख्तियारमा प्रमुख आयुक्तमात्र होइन सबै आयुक्त पद रिक्त छन् । अख्तियारमा २०६३ कात्तिक १७ देखि प्रमुख र दुई आयुक्त पद रिक्त भएका थिए भने २०६६ पुसदेखि अख्तियारका सबै आयुक्त पद रिक्त भएका हुन् । महालेखामा २०६३ पुस निर्वाचन आयोग र लोकसेवा आयोगमा ०६५ देखि प्रमुख पद रिक्त छन् ।

No comments:

Post a Comment