Tuesday, January 1, 2019

सरकार स्वेच्छाचारी रूपमा अघि बढदै : कांग्रेस

काठमाडौंं, १६ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याई स्वेच्छाचारी रूपमा अघि बढिरहेको आरोप लगाएको छ ।त्रिचालीसौं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौं कांग्रेसद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले कांग्रेसले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाए ।
‘सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा छ’ देउवाले भने– ‘कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ, त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन् ।’
उनले निजामती प्रशासनमा हस्तक्षेप सुरु गरेको सरकारले क्रमशः प्रहरी र सेनामा हस्तक्षेप गरी मुलुकमा अधिनायकवाद लादने सोचमा रहेको रहेको बताए । उनले सरकारको यस्तो हस्तक्षेप बढदै गएपछि आमजनतामा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।
‘निजामती कर्मचारीपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका सबै निकायमा पनि हस्तक्षेप हुनेछ, यही नै अधिनायकवाद सोचको सुरुआत हो’ उनले भने– ‘यसरी हस्तक्षेप बढै गए आमजनता र कांग्रेस आन्दोलन गर्न बाध्य हुने छन् ।’
उनले आफ्नो पार्टी सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षीका नाममा कांग्रेसले अनावश्यक मुठभेड गर्न नचाहेको बताए ।
उनले बीपीले सुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थतिअनुसार मेलमिलापको सान्दर्भिकता सधैं रहने बताए ।
कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले मुुलुकमा यतिखेर सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको बताए ।
युवा नेता गगन थापाले नेकपाका दुई अध्यक्षमध्ये एकलाई संघीयता र अर्काेलाई लोकतन्त्र मन नपरेको उल्लेख गर्दै यस्तो अवस्थामा संविधानको सार्थक कार्यान्वयन गरी संविधानका उपलब्धिको रक्षा गर्न कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
–––

No comments:

Post a Comment