Friday, January 18, 2019

वेरोजगारको विवरण संकलन गर्न रोजगार केन्द्र खुल्दै

काठमाडौं, ३ माघ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार युवाहरूको विवरण संकलन गर्न रोजगार संयोजक नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुला गरिएको घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले संयोजक नियुक्तिका लागि श्रम मन्त्रालयले तयार पारेको मापदण्ड स्वीकृत गरिसकेको छ । मापदण्डअनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउ“पालिका मातहतमा रहने गरी खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृत या नायव सुब्बा सरहको एक÷एक जना रोजगार संयोजक नियुक्त गर्ने छ । ७ सय ५३ स्थानीय तहमध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायव सुब्बा सरहको संयोजक रहने छन् ।
१० हजारभन्दा माथि जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत सरहको रोजगार संयोजक राखिनेछ । रोजगार संयोजकले सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ । रोजगार सेवा केन्द्रले सबै स्थानीय तहमा बेरोजगारहरूको सूचना संकलन गर्ने र रोजगारदातालाई आवश्यकताअनुसार त्यसको सूचना दिई रोजगार दिलाउन सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।



No comments:

Post a Comment