Friday, January 25, 2019

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित दुई जना प्राविधिकविरुद्ध विशेष अदालत बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुद्धोदन गाउँपालिकाको कार्यालयका इन्जिनियर कपिल अर्याल र सबइन्जिनियर लक्ष्मण ढुंगानाले सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै ८० हजार रुपैयाँ घुस लिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा उनीहरूलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
अख्तियारले बुधबार नै हेटौंडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । आफ्ना पशुचौपायाको व्यवसायको काम सहज गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुर र हेटौंडाका प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिने प्रयास गरेकामा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जाजरकोटको अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनीराम जैसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वनको आम्दानी रकम ७ लाख बिनाप्रक्रिया चेक काटी अपचलन गरेकाले जैसीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले बुधबार नै सप्तरीको साबिक त्रिलोक गाविस–४ को राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । भवन निर्माण गर्दा ५ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेकामा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment