Wednesday, January 9, 2019

समार्गीले पैसा झिकिसकेपछि सर्वोच्चको रोक्का राख्ने आदेश

काठमाडौं, २४ पुस– विवादास्पद व्यापारी अजयराज सुमार्गीले रोक्का रहेको रकम झिकेर चलाएपछि सर्वोच्च अदालतले मंगलबार पैसा बैंकमै फ्रिज गर्न आदेश दिएको छ । सर्वोच्चका विवादास्पद न्यायाधीश दीपकराज जोशीले दुई साताअघि सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको बैंक खातामा जम्मा भएको रकम बिना रोकतोक झिक्न अनुमति दिन नेपाल राष्ट्र बैंकका नाममा अल्पकालीन आदेश जारी गरेका थिए ।
जोशीको आदेशविरुद्ध खारेज गर्न माग गर्दै नेपाल राष्ट्र बैंक सर्वोच्चमा भ्याकेटमा गएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रसमसेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जोशीले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार खारेज गरेको हो । संयुक्त इजलासले मुक्तिश्री सिमेन्ट उद्योगको बैंक खातामा जम्मा भएको रकम जोशीले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुअघिकै अवस्थामा राख्न आदेश दिएको छ ।
राष्ट्रबैंकले मुक्ति श्री सिमेन्ट उद्योगका नाममा लगानीका लागि प्राप्त चार करोड ५० लाख अमेरिकी डलरमध्ये ७५ लाख अमेरिकी डलर रोक्का गरेको थियो । जोशीको आदेशलगत्तै सुमार्गीले बैंकबाट पैसा झिकिसकेका छन् । सुमार्गीले पैसा झिकेपछि सर्वोच्चले पैसा झिक्न नपाउने भन्दै आदेश जारी गरेको हो ।
जोशीले आदेशमा भनेका थिए– ‘निवेदकका तर्फबाट माग भएको अन्तरिम आदेशको सम्बन्धमा विचार गर्दा अन्तिम निर्णय नभएसम्मका लागि सुविधा सन्तुलनका दृष्टिकोणले निवेदन माग बमोजिम निवेदक उद्योगको खातामा रहेको रकम निवेदक उद्योगको आवश्यकता र समयतालिका बमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनु दिलाउनु र सो सम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) बमोजिम अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ ।’


No comments:

Post a Comment