Thursday, January 31, 2019

केसीको माग सम्बोधन गर्न राजपाको संशोधन प्रस्ताव

काठमाडौं, १६ माघ– राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभाबाट अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि बुधबार संशोधन प्रस्ताव हालेको छ ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमाथि राजपाका सांसद वृषेशचन्द्र लालले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
विधेयकमाथि राष्ट्रियसभामा संशोधन दर्ता गराउने समय बिहीबार १२ बजेसम्म छ । राजपा प्रधानमन्त्री केपी ओलीको सरकारलाई समर्थन दिइरहेको पार्टी हो ।
लालले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ हालसम्मका अनसनको मुख्य उपलब्धि भएकाले उक्त प्रतिवेदनको नाम ऐनको प्रस्तावनामै राखिनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन् । यो केसीको मुख्य मागमध्येको एक हो ।
उनको संशोधन प्रस्तावमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बोधन दिन नपाइने व्यवस्था विधेयकमा राख्नुपर्ने उल्लेख छ ।
‘अन्यत्र जेसुकै लेखिएको भएता पनि आइन्दा एक विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुने छैन । काठमाडौं बाहिरका शिक्षण संस्थाको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुनेछ’ भन्ने व्यवस्था विधेयकमा थप्न लालले प्रस्ताव गरेका छन् ।
 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका प्रवीणता प्रमाणपत्र तह (पीसीएल) मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रमलाई क्रमशः ५ वर्षभत्र ’फेज आउट’ गर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने लालले संशोधन प्रस्तावमा उल्लेख गरेका छन् ।

No comments:

Post a Comment