Thursday, January 31, 2019

रक्तचन्दन मिलाइदिने भन्दै ६० लाख लिएर डीएफओ बेपत्ता

३० दिनभित्र उपस्थित हुन अख्तियारद्वारा सूचना जारी
काठमाडौं, १६ माघ– चिनियाँ नागरिक चाई लुलाई रक्त चन्दनको ठेक्का मिलाइदिने आश्वासन दिई ६० लाख रुपैयाँ बुझेका रसुवाका तत्कालीन जिल्ला वन अधिकृत (डीएफओ) विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका छन् । शर्तअनुसार रक्तचन्दन नदिएको भन्दै चिनियाँ नागरिकका तर्फबाट परेको उजुरी छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धानले पटक–पटक म्याद तामेली गर्दा पनि मिश्र अख्तियारमा उपस्थित भएका छैनन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन् । पटक पटकको म्याद तामेलीबाट सम्भव नभएपछि अख्तियारले माघ १४ मा सार्वजनिक सूचना नै जारी गरी मिश्रलाई अख्तियारमा उपस्थित हुन भनेको छ । सूचनामा अख्तियारमा आई अनुसन्धानमा सहयोग गर्न मिश्रलाई आग्रह गरिएको छ । अख्तियारले सूचनामा ३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत जनाएको छ ।
मिश्रले चिनियाँ नागरिकलाई आफ्ना छोरा नवीनकुमार मिश्रका नाममा रकम जम्मा गर्न लगाएको आरोप लगाइएको सूचनामा उल्लेख छ । अख्तियारले छोरा नवीनका नाममा समेत सूचना जारी गरी उपस्थित हुन भनेको छ ।
सूचनामा स्थायी ठेगानामा खोजतलास गर्दा मिश्र फेला नपरेकोसमेत सूचनामा उल्लेख छ । सूचनाका अनुसार स्थायी तथा बसोबास गरिरहेको घर ठेगानामा म्याद तामेल गरी अख्तियारमा बयानका लागि आउन भने पनि बाबुछोरा दुवै जना आएका छैनन् ।

No comments:

Post a Comment