Wednesday, January 9, 2019

समितिमा मेलम्चीका ठेकेदारलाई कारबाही गर्न माग

काठमाडौं, २४ पुस– संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्यहरूले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्ने इटालियन ठेकेदार कम्पनी सीएमसीलाई कडा कारबाही गर्न सरकारस“ग माग गरेका छन ।
समितिको मंगलबार बसेको बैठकमा यज्ञराज सुनुवार, राजेन्द्र लिङदेनलगायतका सदस्यले राष्ट्रिय गौरवको आयोजनाको काम अलपत्र पारेकामा सीएमसीमाथि तत्काल कारबाही गर्न माग गरेका हुन् ।
सदस्यहरूले आयोजनाको काममा ढिलासुस्ती हुनुमा ठेकेदारका अलावा मेलक्ची खानेपानी विकास समितिका पदाधिकारीसमेत जिम्मेवार रहेको उल्लेख गर्दै तिनलाई समेत कारबाही गर्नका लागि उपसमिति बनाएर छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले उपसमितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सरकारलाई दबाब पर्ने बताए ।
सीएमसीले आफू आर्थिक टाट पल्टेको दाबी गर्दै सिएमसीका कर्मचारी मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पारेर क्रिसमस मनाउने नाममा इटाली गएका थिए, उनीहरू अझै फर्केका छैनन् ।
समितिले मेलम्चीसहित राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको गुणस्तर परीक्षणसम्बन्धी प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन समेत सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । बैठकमा केन्द्रका सचिव विष्णुओम बादेसमेत सहभागी थिए ।

No comments:

Post a Comment