Wednesday, January 9, 2019

मिलेनियम च्यालेन्जको कार्यकारी निर्देशकमा बिष्ट नियुक्त

६३ करोड डलरको आयोजना अघि बढाउने जिम्मा
काठमाडौं, २४ पुस– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालको कार्यकारी निर्देशकमा खडगबहादुर विष्टलाई नियुक्त भएका छन् । एमसीए, नेपाल अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बाट प्राप्त हुने ५० करोड अमेरिकी डलर बराबरको अनुदान रकम उपयोग गर्दै परियोजना कार्यान्वयन गर्न नेपाल सरकारले स्थापना गरेको संस्था हो । 
‘नेपाल सरकारको संस्था मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए–नेपाल) ले आफ्नो कार्यकारी निर्देशकमा विष्टलाई नियुक्त गरेको छ’ एमसिए, नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा छ, ‘२०७५ पुस १३ मा बसेको एमसिए–नेपालको छैटौ संचालक समितिको बैठकले नियुक्तिको निर्णय गरेको हो ।’ यसअघि एमसीएको कार्यकारी निर्देशक पूर्वसचिव तुलसी सिटौला थिए । विष्ट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का पूर्वअध्यक्ष तथा संथापक सदस्य हुन् ।
एमसए–नेपालको संचालक समितिद्वारा गठित छनौट समितिले प्रतिस्पर्धात्मक प्रक्रियाबाट विष्टलाई छनौट गरेको हो । विष्टले कार्यकारी निर्देशकको हैसियतमा ६३ करोड अमेरिकी डलर बजेट रहेको विद्युत् प्रसारण परियोजना र सडक मर्मत परियोजनाको कार्यान्वयन तथा व्यवस्थापन गर्ने छ, जसमा ५० करोड डलर एमसीसीको पू“जी रहने छ भने थप १३ करोड डलर नेपाल सरकारको तर्फबाट लगानी हुनेछ’ विज्ञप्तिमा छ ।
एमसिए–नेपालले अमेरिकी सहयोगमा काठमाडौंको लप्सिफेदीदेखि नवलपरासीको सुनवलसम्म ३ सय ५ किलोमिटर लामो ४ सय केभिको प्रसारण लाइन र नेपालमा क्षेत्रीय ऊर्जा व्यापार उत्थान गर्न र विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार गर्न भारतको बुटवलदेखि गोरखपुरसम्म प्रसारण संजाल तयार गर्ने योजनासमेत बनाएको छ । एमसिए–नेपालको विद्युत प्रसारण परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना भनी तोकेको छ ।

No comments:

Post a Comment