Friday, January 18, 2019

नया“ मर्यादाक्रमबाट संवैधानिक निकायको अपमान : लोकसेवा

‘तत्काल मर्यादाक्रम सच्याऊ’
काठमाडौं, ३ माघ– लोकसेवा आयोगले सरकारद्वारा हालै जारी नयाँ मर्यादाक्रमले संवैधानिक निकायहरूको अपमान गरेको भन्दै आपत्ति जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी विशिष्ट श्रेणीका मुख्यसचिव र प्रधानसेनापतिभन्दा संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम दुई तह तल राखिएकामा असन्तुष्टि व्यक्त गर्दै मर्यादाक्रम पहिलाकै जस्तै कायम राख्न सरकारलाई आग्रह गरेको छ ।
‘सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका महानुभावहरूको नया“ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । खासगरी संवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीहरूको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायहरुकै संस्थागत मर्यादामा ह्रास भएको छ’ आयोगको विज्ञप्तिमा छ ।
आयोगले विज्ञप्तिमा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदको भूमिका र गरिमालाई आधार मान्नु पर्नेमा कुनै मापदण्डबिना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले निर्णय भएको उल्लेख गरेको छ । नया“ मर्यादाक्रमका कारण निजामती सेवा ऐन, २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ मा व्यवस्था गरिएको बढुवा समितिका बैठकहरूमा आयोगका सदस्यहरूले भाग लिनसमेत असहज स्थिति सिर्जना भएको आयोगले जनाएको छ ।
बढुवा समितिहरूमा लोक सेवा आयोगका सदस्यले अध्यक्षता गर्ने र मुख्य सचिव सदस्य रहने व्यवस्था छ । यो कानुनी प्रावधानको प्रतिकूल हुने गरी मर्यादाक्रम निर्धारण गरिएकामा आयोगले विशेष आपत्ति जनाएको हो ।  मुख्यसचिव माथिल्लो मर्यादाक्रममा भएपछि त्यस्ता समितिको बैठकमा लोकसेवाका सदस्यले अध्यक्षता गर्न अब असहज हुने भएको छ । किनकि लोकसेवाका सदस्यभन्दा मुख्यसचिवको मर्यादाक्रम माथि छ ।
आयोगले मर्यादाक्रमको हेरफेर अपरिपक्व रहेकाले त्यसलाई सच्याई संवैधानिक निकायका सदस्यहरूको मर्यादाक्रम संवैधानिक निकायका प्रमुखको लगत्तैपछि राख्न सरकारलाई सुझाएको छ ।
‘मर्यादाक्रमप्रति अन्य निकायका पदाधिकारीहरूको समेत असन्तुष्टि बाहिर आइरहेकाले पनि यो निर्णयको अपरिपक्वता स्वतः सिद्ध भएको छ,’ आयोगको विज्ञप्तिमा छ, ‘यसर्थ यसलाई संशोधन गरी संवैधानिक निकायका सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखहरूको लगत्तैपछि कायम गर्न सरकारलाई आयोग विशेष आग्रह गर्दछ ।’

No comments:

Post a Comment