Monday, January 7, 2019

मर्यादाक्रम हेरफेर गर्दै सरकार

प्रदेश र स्थानीय तहका पदाधिकारीको मर्यादाक्रम बढाइने
काठमाडौं, २२ पुस– सरकारले प्रदेश र स्थानीय तहको पदाधिकारीहरूको दबाबमा मर्यादाक्रम हेरफेर गर्न लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनलगत्तै सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको नयाँ मर्यादाक्रम बनाई जारी गरेको थियो ।
प्रदेश र स्थानीय तहका पदाधिकारीले आफूहरूलाई कर्मचारीभन्दा तल्लो मर्यादाक्रममा राखिएको भन्दै विरोध गरेपछि सरकारले हेरफेर गर्न लागेको हो ।
गृह मन्त्रालयले पेस गरेको मर्यादाक्रम हेरफेरसम्बन्धी प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । मन्त्रिपरिषदले त्यसमा थप गृहकार्य गर्ने जिम्मा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई दिएको छ । अर्को मन्त्रिपरिषद बैठकमा मर्यादाक्रम हेरफेरसम्बन्धी निर्णय हुने जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
मुख्यमन्त्रीहरूको मर्यादाक्रम केन्द्रीय सरकारका मन्त्री सरह बनाइने भएको छ । सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अरू ठाउँमा केन्द्रीय मन्त्रीको मर्यादाक्रम माथि रहने गृहको प्रस्तावमा उल्लेख छ । यसअघि केन्द्रीय मन्त्रीपछाडि मुख्यमन्त्रीको मर्यादाक्रम रहेको थियो ।
प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम संघीय संसदका सदस्य बराबर बनाउन लागिएको छ । यसअघि प्रदेशसभा सदस्यको मर्यादाक्रम नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएको थियो ।
अब प्रदेशसभा सदस्यहरूको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरूभन्दा माथि राखिने भएको छ ।
संघीय राजधानी काठमाडौंका मेयरको मर्यादाक्रम संघीय संसदका सदस्य सरह बनाउने प्रस्ताव गरिएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम मुख्य सचिवभन्दा तल थियो ।  काठमाडौं महानगरको प्रशासकीय अधिकृत नै सरकारको सचिव हुने भएकाले मेयरको मर्यादाक्रम बढाउन लागिएको हो ।
काठमाडौं बाहेक अरू महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा तलै राखिने भएको छ । उपमहानगर र नगरका मेयरको मर्यादाक्रम समेत केन्द्रीय सरकारका सचिवहरू सरह बनाइने प्रस्तावमा उल्लेख छ ।
गाउ“पालिका अध्यक्षको मर्यादाक्रम सहसचिव सरह बनाउने प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ ।
गाउँपालिका अध्यक्ष नेपाली सेनाका क्याप्टेन र नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो । गाउँपालिका संघ र नगरपालिका संघका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर मर्यादाक्रम सच्याउन माग गरेका थिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा केही समयअघि बसेको अन्तर परिषद बैठकमा मुख्यमन्त्रीहरूले मर्यादाक्रम त्रुटिपूर्ण रहेकाले सच्याउन आग्रह गरेका थिए । प्रदेशसभा सदस्यहरुलाई सहसचिव सरह राखेर अपमान गरिएको धारणासमेत मुख्यमन्त्रीहरूको थियो ।

No comments:

Post a Comment