Tuesday, September 10, 2019

चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको वितरण केन्द्र नवलपरासी (पूर्व) का प्रमुख, अध्यागमन र मालपोतका अधिकृतसहित चार जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विद्युत् प्राधिकरण, त्रिवेणी वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध मुद्दा दायर गरेको छ । थ्री फेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीस“ग १ लाख ३६ हजार ५ सय ५५ रुपैयाँ घूस लिएको पुष्टि भएकाले महरा र काफ्लेविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै अध्यागमन विभागका तत्कालीन अधिकृत सुरेश सुवेदी र मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवरविरुद्ध पनि मुद्दा दायर गरिएको छ । अध्यागमन अधिकृत सुवेदीले साउदी अरबका नागरिकलाई गैरपर्यटकीय भिसा र विलम्बबापतको शुल्क १८ सय २० अमेरिकी डलर (झन्डै २ लाख रुपैयाँ) राजस्व खातामा दाखिला नगरी प्रस्थान अनुमति दिएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अख्तियारका अनुसार मालपोत अधिकृत कुँवरले जग्गाको रजिस्ट्रेसन पास गर्न सेवाग्राहीसँग ५९ हजार रुपैयाँ लिएको छानबिनबाट पुष्टि भएको छ । मुद्दा दायर भएसँगै चारै जना निलम्बित भएका छन् । उनीहरूलाई बिगोबराबर जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ ।

No comments:

Post a Comment