Wednesday, September 4, 2019

डेंगु परिक्षण र उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौं, १७  भदौ– स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परिक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । डेंगु रोग राजधानी काठमाडौंसहित मुलुकभर डेंगु रोग प्रकोपका रूपमा नै फैलन थालेपछि सरकारले आफ्नो एकमात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई त्यस्तो निर्देशन दिएको हो ।
अस्पतालमा अनुसार डेंगुका २४ जना बिरामी उपचारत छन् । अस्पतालमा मंगलबारमात्र ५ सय २२ जनाले डेंगु रोगको परीक्षण गराएको जानकारी अस्पतालले दिएको छ । रोगको परिक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।
सरकारका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झन्झट निःशुल्क सेवा दिन र बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डा. यादवले अस्पतालमा उपचाररत डेंगुका बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिएका थिए । ‘अस्पतालले आजैदेखि छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौं’ अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेंगु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारीसमेत राज्यमन्त्री यादवलाई गराएका थिए ।

No comments:

Post a Comment