Friday, September 27, 2019

शर्माको पदावधि थप, सेनापति हुने सम्भावना बढ्यो

काठमाडौं, ९ असोज– सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएका छन् ।
पदावधि थप भएसँगै शर्मा नेपाली सेनाको प्रधान सेनापति हुने सम्भावित रोलक्रममा परेका छन् । शर्माको उपरथीको २ वर्षे पदावधि कात्तिकमा सकिंदै थियो । पदावधि थपिएका शर्मा आगामी असारपछि प्रधान सेनापति पूर्णचन्द्र थापापछिका सबभन्दा वरिष्ठ सैनिक अधिकारी हुने छन् । त्यही कारण उनले प्रधानसेनापति थापापछि सेनाको नेतृत्व लिने सम्भावित बाटो खुलेको जानकारी सैनिक स्रोतले दिएको छ ।
बलाध्यक्ष रथी गौरव तण्डुलको आगामी वैशाखमा र अर्का रथी शरद गिरीको असारमा पदावधि समाप्त हुँदै छ । दुवैको एक÷एकपटक कार्यकाल थप भइसकेको छ, फेरि पदावधि थप्न मिल्दैन । दुवैले अवकास पाएपछि शर्मा रथीमा बढुवा भई प्रधान सेनापति थापापछिको पहिलो वरियतामा पुग्ने छन् । थापाले प्रधान सेनापतिबाट अवकास पाएपछि सबभन्दा वरिष्ठका नाताले शर्माले सेनाको नेतृत्व सम्हाल्ने अवसर पाउने सम्भावना बढेको स्रोतले उल्लेख गरेको छ ।
यसैबीच सरकारले नेपाली नागरिक नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति प्रदान गरेको छ । विदेशी मुलुकबाट पदक लिन सरकारको पूर्वस्वीकृति लिनु पर्ने कानुनी व्यवस्था छ ।

No comments:

Post a Comment