Friday, September 6, 2019

वडाध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम र वडा सदस्य कारी साह तेलीसहित ३ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा वडा सदस्य साहका छोरा मुकेश साह तेलीसमेत छन् । अनुसन्धानबाट वडाध्यक्ष आलम र वडा सदस्य कारी साहु तेलीले धर्मपुर सडक नाला तथा पी.सी.सी. ढलानको काम सम्पन्न भएपछि रकम भुक्तानीका क्रममा १ लाख ६० हजार रुपैयाँ घूस लिएको सप्रमाणपुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य साहका तर्फबाट सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैया“ घूससहित मुकेशले पक्राउ परेका थिए । मुकेश साहसित सोधपुछ गर्दा उनले आलम र साहले अह्राएअनुसार आफूले घूस रकम बुझेको बयान दिएकोसमेत अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । अख्तियारले मुकेश साहविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
अख्तियारले वडाध्यक्ष आलम, वडा सदस्य साह र मुकेशविरुद्ध जनही १ लाख ६० हजार रुपैया“ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम डेढ वर्षसम्म कैद र जरिवाना गर्न अभियोपत्रमा मागदाबी गरेको छ । मुद्दा दायर भएसँगै वडाध्यक्ष आलम र वडा सदस्य साह पदबाट निलम्बित भएका छन् ।
प्रहरीलाई घुस दिन खोज्दा भ्रष्टाचार मुद्दा
अख्तियारले भक्तपुर सल्लाघारीका गंगालाल श्रेष्ठविरुद्ध प्रहरीलाई घुस दिन खोजेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरीलाई ४० हजार रुपैयाँ घूस दिन खोज्दा उनी पक्राउ परेका थिए ।
अख्तियारका अनुसार श्रेष्ठले घर घाडामा लिई जुवा तास खेलाएकामा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारेर जुवा तास खेल्ने र खेलाउनेलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
धरौटीमा रिहा भएका श्रेष्ठले पुनः जुवातास खेल्न सहज वातावरण बनाइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्दा अख्तियारको टोलीले महानगरीय प्रहरी परिसर भक्तपुरकै कार्यालयबाट पक्राउ गरेको थियो । राष्ट्रसेवक प्रहरीलाई घूस दिएको देखिन आएकाले श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

No comments:

Post a Comment