Friday, September 27, 2019

काठमाडौं, ९ असोज– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने सुनिश्चित भइसकेको उल्लेख गर्दै तिथिमात्र तय हुन बाँकी रहेको बताएका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकार चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी गराउँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन गृहकार्य भइरहेको बताए । ‘चिनियाँ राष्ट्रपति आउने सुनिश्चित भइसकेको छ । तिथिमात्र तय हुन बाँकी छ । भ्रमणको मिति समयक्रमसँगै टुंगो लाग्छ’ उनले भने ।
चीनले आर्थिक, सामाजिक र पूर्वाधार विकासमा गरेको उपलब्धिबाट लाभान्वित हुन नेपाल लालायित रहेको उनले बताए । ‘विश्वमै द्रुत गतिमा विकसित हुँदै गइरहेको चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले बढीभन्दा बढी लाभ लिन चाहेको छ । भ्रमणको तयारीसमेत त्यसैमा केन्द्रित छ ।’ उनले २३ वर्षपछि चिनिया“ राष्ट्रपति तहमा हुन लागेको भ्रमणलाई सरकारले उच्च महत्व दिएको र त्यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
नेकपाको केन्द्रीय कमिटी सदस्यसमेत रहेका बाँस्कोटाले यही असोज ६ र ७ गते काठमाडौंमा नेपाल र चीनका दुई सत्तारूढ पार्टीले पहिलोपटक संयुक्त रूपमा आयोजना गरेको विचारधारात्मक प्रशिक्षणलाई लिएर विरोध भइरहेकामा आश्चर्य व्यक्त गरे । उनले एउटा देशको पार्टीको अर्को देशको पार्टीसित सम्बन्ध हुनु र संयुक्त कार्यक्रम गर्नु सामान्य भएको दाबी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीसित नेकपामात्र होइन नेपालका सबै पार्टीको सम्बन्ध रहेको बताए ।
उनले कांग्रेसका नेताहरूप्रति संकेत गर्दै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच राम्रो सम्बन्ध बन्यो भन्ने कुराले अतालिएर विरोध गरेको दाबी गरे । ‘नेकपालाई सी पथतिर लाग्यो भनेर विरोध हुँदैछ । नेकपा नेकपाकै पथमा छ । सी पथमा लाग्यो भनेर अतालिएर कोकोहोलो गर्नु पर्दैन’ उनले भने– ‘जजससित सम्बन्ध भए पनि नेकपा जनअनुमोदित शासन प्रणालीमा विश्वास गर्छ र त्यसबाट कहिल्यै पछि हटदैन ।’

No comments:

Post a Comment