Saturday, September 28, 2019

सोमबार खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, ११ असोज– सरकारले आगामी सोमबार ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा सोमबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको जानकारी खानेपानी मन्त्री विना मगरले दिइन् ।
खानेपानी मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर निजी तथा सार्वजनिक सौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन् । उनले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्बद्ध पक्ष र सर्वसाधारणलाई समेत आग्रह गरेकी छन् ।
सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिशामुक्त घोषणा गर्न थालेको थियो । अहिले सबै जिल्ला खुला दिसामुक्त भइसकेका छन् । मन्त्री मगरले अभियानमा सबै दल, पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सहयोग गरेकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन् ।
खानेपानी मन्त्रालयका अनुसार मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भएका छन् । मन्त्री मगरका अनुसार खुला दिशामुक्त राष्ट्र घोषणा भएसँगै देशभर सरसफाइलाई अभियानका रूपमा अघि बढाइने छ ।

No comments:

Post a Comment