Thursday, September 12, 2019

पशुपति क्षेत्र चक्रपथभित्र पार्न दबाब

कोटेश्वर–गौशालाको विकल्पमा कोटेश्वर–जडीबुटी–पेप्सीकोला–जोरपाटी हु“दै चक्रपथ विस्तार गर्न र अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्दा सम्पदा क्षति नगर्न ध्यानाकर्षण
काठमाडौं, २५ भदौ– पशुपति क्षेत्र विकास कोषले चक्रपथलाई विस्तार गर्दा पाशुपत क्षेत्रका सम्पदा नाश हुने चिन्ता व्यक्त गर्दै त्यसको विकल्प सोच्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कोषका पदाधिकारीले बुधबार स्थलगत अध्ययनमा आएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिसमक्ष पशुपति क्षेत्रभन्दा बाहिरबाट चक्रपथ विस्तारको विकल्पमा ध्यान दिन आग्रह गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार जयबागेश्वरी मन्दिर, निर्वाणेश्वर मन्दिर र धन्दो चैत्य चक्रपथसँगै जोडिएका छन् । विस्तार गर्दा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका सदियौं पुराना ती सम्पदा पूर्ण रूपमा नास हुनेछन् । जयबागेश्वरी लिच्छविकालीन मन्दिर हो भने अरू दुईवटा सम्पदा पनि सदियौं पुराना हुन् ।
सदस्यसचिव ढकालले ती सम्पदा जोगाउनका लागि चक्रपथलाई कोटेश्वर–जडीबुटी–पेप्सीकोला–बौद्ध–चाबहिल भएर विस्तार गर्न र पशुपति क्षेत्रलाई चक्रपथभित्र पार्न उपसमितिमार्फत सरकारलाई सुझाएका छन् । सदियौं पुराना सम्पदालाई सार्न नमिल्ने भएकाले विकल्प सोच्न आग्रह गरिएको ढकालले बताए । ‘चक्रपथ विस्तार गर्दा पशुपति क्षेत्रका धेरै सम्पदा नाश हुन्छन्, सदियौं पुराना सम्पदालाई अन्यत्र सार्न मिल्दैन,’ उनले भने । ‘त्यसैले कोटेश्वर–गौशाला–चाबहिल खण्डको विकल्प सुझाएको हुँ’ उनले  भने । ठूला गाडी आवागमनले अहिले पनि यी तीनवटा संरचनामा असर गरिरहेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्दासमेत पशुपति क्षेत्र अतिक्रमित नहोस् भन्नेतर्फ सजग हुनुपर्ने कोषका पदाधिकारीको सुझाव छ । ‘विमानस्थल विस्तार हुनुपर्छ तर पश्चिमतर्फ मृगस्थलीको संरक्षित स्मारक क्षेत्र पर्छ, पशुपति क्षेत्र जोगाउनका लागि विमानस्थल दक्षिण र पूर्वतर्फ मात्र विस्तार गरियोस् भन्ने हाम्रो माग हो,’ ढकालले भने । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार क्रममा संरचना बनाउनुअघि परामर्श लिनुपर्ने माग कोषको छ ।
कोषले उपसमितिलाई आफ्नो गुरुयोजना निर्माणबारे पनि जानकारी गराएको थियो । गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी चैतसम्म गुरुयोजना तयार भइसक्ने जानकारी ढकालले दिए । गुरुयोजना निर्माण समितिका संयोजक एवं कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमले ५० वर्षसम्मलाई हेरेर गुरुयोजना बनिरहेको जानकारी दिएका थिए ।
उपसमितिका सांसदले श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउने कार्यमा रोक लगाउन कोषका पदाधिकारीलाई आग्रह गरेका थिए । छलफल क्रममा उपसमिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रलाई चिहानघारी नबनाउन आग्रह गरे । उनले पशुपति क्षेत्रमा सफाइ कर्मचारीको संख्या बढाएर पर्यटकलाई आऊ“ आऊ“ लाग्ने बनाउन सुझाव दिए । उपसमितिकी संयोजक सांसद सुजिता शाक्यले शौचालयमा समेत पुरातात्विक महत्वका उमामहेश्वरलगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न आग्रह गरिन् ।

No comments:

Post a Comment