Wednesday, September 25, 2019

अब सिंहदरबारबाटै गौरवका आयोजनाको निगरानी

काठमाडौं, ६ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको ‘एक्सन रुम’ बाटै राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आधुनिक प्रविधियुक्त कक्षबाट राष्ट्रिय गौरवका सबै आयोजनाको प्रत्यक्ष निगरानी (लाइभ मनिटरिङ) गर्ने सिस्टम कार्यान्वयनमा ल्याएको हो ।
एक्सन रुमबाट प्रधानमन्त्री ओली, मुख्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवले राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूस“ग ‘लाइभ’ छलफल गर्न सक्ने स्रोतले जानकारी दिएको छ । ‘एक्सन रुममा बसेर प्रधानमन्त्री, मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले आयोजनाहरूको प्रगति हेरेर आवश्यक देखिए आयोजना प्रमुखसँग प्रत्यक्ष कुराकानी गरी रिपोर्टिङ लिन र निर्देशन दिन सक्नुहुनेछ,’ स्रोतले भन्यो ।
एक्सन रुम जेठ १५ देखि नै सञ्चालनमा आइसकेको थियो । यसमा तीनवटा ठूला मनिटर जडान गरिएको छ । एक्सन रुमस“गै सातै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय गौरवका आयोजना प्रमुखको कार्यकक्षमा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भिडियो कन्फरेन्सिङ सिस्टम हो । इन्टरनेटका माध्यमबाट प्रधानमन्त्री कार्यालयबाट मुख्यमन्त्री र राष्ट्रिय गौरवका आयोजनाका प्रमुखसित प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिनेछ ।
एक्सन रुमसित गौरवका २१ वटै आयोजना जोडिएका छन् । आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको टेलिप्रिजेन्स सिस्टम जोडिएको छ । ती सीसी क्यामेराले लिने लाइभ फुटेज चौबीसै घण्टा प्रधानमन्त्री कार्यालयको एक्सन रुममा आइरहन्छन् । प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी गर्न थालेपछि गौरवका आयोजनाको कार्यसम्पादनमा सुधार आउने मन्त्रिपरिषद् कार्यालयले विश्वास व्यक्त गरेको छ ।

No comments:

Post a Comment