Thursday, September 26, 2019

७ अधिकृतसहित ११ विरुद्ध मुद्दा


काठमाडौं, ८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ अधिकृतसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत अनोजकुमार घिमिरे, कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो । यातायात व्यवस्था र सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारीहरूले भारतीय सवारी चालकको नक्कली अनुमतिपत्रलाई आधार बनाएर मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तिययारले जनाएको छ । यस्तै भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र लेखा अधिकृत राजेश काÏलेविरुद्ध पनि मुद्दा दायर भएको छ । झूटा कागजात, नक्कली प्याड, छापसमेत प्रयोग गरी १५ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको छानबिन पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विद्युत् प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहाका कार्यालय प्रमुख छेदीलाल साह सोनारविरुद्ध मुद्दा दायर भएको छ । काममा लगाइदिने प्रलोभन देखाई ३ लाख ८० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मद्दा दायर गरिएको अख्तियारले जनाएको छ । करारमा जागिर खुवाउने प्रयोजनका लागि सरोजकुमार यादव र लक्ष्मीनारायण यादवले सोनारलाई घूस खुवाएको प्रमाणित भएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्टसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा कार्यालयका अधिकृतद्वय भुवन जोशी र जयराज कारिगर छन् । सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment