Wednesday, September 25, 2019

४७ लाखको भ्रष्टाचारमा महाप्रबन्धकसहित १० विरुद्ध मुद्दा

काठमाडौं, ६ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४७ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा संस्थानका तत्कालीन निमित्त उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र प्रशासन विभागका निमित्त प्रमुख दिपक सुवेदी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रालिका सञ्चालकद्वय फणिन्द्रप्रसाद दाहाल, दिपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरी छन् ।
अभियोगपत्रमा अख्तियारले महाप्रबन्धक तिमसिनासहितले मिलेमतोमा टेन्डर नगरी कानुनविपरीत पुरानै सम्झौताका आधारमा गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई काठमाडौं उपत्यकामा दुग्ध वितरण गर्न दिई संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु¥याएर झन्डै ४७ लाख रुपैयाँ अनियमितता गरेको जनाएको छ ।
सार्वजनिक खरिद ऐन, नियमावली र संस्थानको आर्थिक व्वस्थापन विभागको रायविपरित तिमसिनासहितले डिस्ट्रिब्युटर कम्पनीहरूसितको मिलेमतोमा २०६९ माघ २२ मा सम्झौता बाहिर गएर प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५५ प्रतिशत मूल्यवृद्धिको निर्णय गरी अस्वाभाविक बढी भुक्तानी दिएर आफूहरूलाई फाइदा र संस्थानलाई करिब ४७ लाख रुपैयाँ नोक्सानी पु¥याएको छानबिन पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले महाप्रबन्धक तिमसिनासहित संस्थानका ६ कर्मचारीलाई करिब ४७ लाखका दरले र डिस्ट्रिब्युटर कम्पनी गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रा.लिका चार सञ्चालकलाई प्रतिव्यक्ति २२ देखि २५ लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्ष जेल सजाय र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
सई र असईविरुद्ध मुद्दा
अख्तियारले क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगन्जका प्रहरी नायव निरीक्षक देवराज बीसी र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीविरुद्ध समेत मंगलबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । बीसीलाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको र माझीलाई सेवाग्राहीसित १० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment