Friday, September 6, 2019

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, १९ भदौ– सरकारले ठेक्का लिएर ओगटने, लामो समयसम्म काम नगर्ने चारवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना निकालेर काममा ढिलासुस्ती र लापर्बाही गर्दै आएका चार ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको हो ।
विभिन्न विकासे कार्यालयको सिफारिसमा ती ठेकेदार कम्पनीलाई कारबाही गरिएको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको छ । कार्यालयले कालो सूचीमा परेका चारवटै कम्पनीलाई कुनै पनि सरकारी निकायको निर्माण र खरिद प्रक्रियाको ठेक्कामा सहभागी हुन प्रतिबन्ध लगाएको छ ।
कालो सूचीमा परेका ठेकेदार कम्पनीमा झापाको गणेश निर्माण सेवा, काठमाडौं महानगर–३ को श्री विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एण्ड सप्लायर्स प्रालि, बा“केको श्री अनमोल निर्माण सेवा र जुम्लाको कृष्णा निर्माण सेवा छन् ।
चार ठेकेदार कम्पनीमध्ये विपिन कन्स्ट्रक्सनलाई दुई वर्ष र गणेश निर्माण सेवा, कृष्णा निर्माण सेवा, अनमोल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी कार्यालयले दिएको छ । कार्यालयले कालोसूचीमा परेका ठेकेदार कम्पनीलाई कालोसूचीमा अवधिभर सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिदको ठेक्का प्रक्रियामा सहभागी नगराउन निर्णयसहित मुलुकभरका सबै सरकारी निकायलाई पत्राचारसमेत गरेको छ ।

No comments:

Post a Comment