Sunday, September 15, 2019

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला केरुङ–काठमाडौँ रेलवे सम्झौता : रक्षामन्त्री


काठमाडौं, २८ भदौ– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि जिन फिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् ।
टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै रेलवेको सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उनले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेकाले यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढेको बताए ।
‘संसदबाट सार्वजनिक खरीद ऐन संशोधन हुँदै छ’ उनले भने ‘ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन् ।’ उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए । उनले विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अहम् हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न आग्रह गरे ।
उनले स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने उल्लेख गर्दै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने बताए । उनले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए । ‘कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ । विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुदैन’ उनले भने ।

No comments:

Post a Comment