Monday, September 9, 2019

चिनियाँ विदेशमन्त्री आइपुगे

काठमाडौं, २२ भदौ– चिनियाँ विदेशमन्त्री एवं चीनको राज्यपरिषद सदस्य वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं ओर्लेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेशमन्त्रीलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरेका थिए ।
चार वर्षको लामो अन्तरालपछि चिनियाँ विदेशमन्त्री पहिलोपटक नेपाल आएका हुन् । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । सोमबार नै ज्ञवालीले चिनियाँ विदेशमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् ।
दुई देशका विदेशमन्त्रीको नेतृत्वमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई मुलुकबीच भएका अहिलेसम्म भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि शिक्षा तथा स्वाथ्य क्षेत्रमा सहयोग गर्नेसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’ मा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment