Friday, September 6, 2019

५० लाखभन्दा बढी अनियमिततामा ६ जनाविरुद्ध मुद्दा

  • गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
  • घूससहित दुई जना पक्राउ
काठमाडौं, १९ भदौ– अख्तियारले नक्कली बिड बन्ड र परफरमेन्स बन्डका आधारमा ५० लाख रुपैया“भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सहरी विकास विभागमातहत आयोजनाका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा वाणिज्य बैंकको शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रबन्धक टीकाप्रसाद दुलाल, सहायक प्रबन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज प्रह्लाद खड्का, सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंका तत्कालीन डिभिजन प्रमुख बुद्धिसागर थापा, ब्रह्मायणी निर्माण सेवाका म्यानेजिङ डाइरेक्टर उमेशकुमार भण्डारी र सोवर्ण निर्माण सेवाका प्रोपाइटर अर्जुनबहादुर थापा छन् ।
प्रबन्धकसहितका बैंक कर्मचारीले ठेकेदारसितको मिलेमतोमा बैंकमा धितो नराखी सोवर्ण÷ब्रह्मायणी जेभीलाई ६ लाख १० हजार रुपैयाँको बिड बन्ड तथा ८ लाख ७१ हजार रुपैयाँको परफरमेन्स बन्ड बनाइदिएका थिए । नक्कली बन्डका आधारमा सोवर्ण÷ब्रह्मायणी जेभीका सञ्चालकले सहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय काठमाडौंअन्तर्गत कपन स्वास्थ्य चौकीको भवन निर्माण ठेक्का लिई ३० लाख रुपैयाँभन्दा बढी मोबिलाइजेसन रकम बुझेर अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले प्रबन्धक दुलालविरुद्ध ६ लाख १० हजार, तत्कालीन सहायक प्रबन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज प्रह्लाद खड्काविरुद्ध १४ लाख ८१ हजार, सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय काठमाडौंका तत्कालीन डिभिजन प्रमुख इन्जिनियर बुद्धिसागर थापाविरुद्ध १२ लाख २७ हजार ४ सय ४० बराबर भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।
अख्तियारको अभियोगपत्रमा ब्रह्मायणी निर्माण सेवाका प्रबन्ध निर्देशक उमेशकुमार भण्डारी र सोवर्ण निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर थापाले ३० लाख २२ हजार १ सय रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरू सबैलाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न माग गरिएको छ ।
गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
यसैगरी अख्तियारले तेह्रथुमको साविक दाँगपा गाविसका तत्कालीन सचिव मणिप्रसाद राईविरुद्ध सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राईले आफैंले ल्याप्चे लगाई २ लाख ९ हजार ७ सय रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
घूससहित दुई जना पक्राउ
अख्तियारले काठमाडौं महानगरपालिकाको ६ नं. वडा कार्यालयका कर्मचारी श्यामकुमार कार्की र शिक्षक खेन्चे दोर्जे तामाङलाई बिहीबारै घूस रकमसहित पक्राउ गरेको छ । वडा कार्यालयमा घरजग्गाको कर लिने क्रममा १५ सय रुपैयाँ घूस लेनदेन गर्दागर्दै तामाङ र कार्कीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment