Thursday, September 12, 2019

राष्ट्रियसभामा प्रश्न– ‘कति जना मरेपछि डेंगुले महामारीको रूप लिन्छ ?’

काठमाडौंं, २५ भदौ– राष्ट्रियसभाको बुधबार बसेको बैठकमा मुलुकभर डेंगुले महामारीका रूप लिइसक्ता पनि सरकार गम्भीर नभएकामा चर्को विरोध भएको छ ।
प्रतिपक्षी कांग्रेसका सांसद राधेश्याम अधिकारीले महामारीको रूप लिइसकेको डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि संकटकाल घोषणा नगरेकामा सरकारको तीव्र आलोचना गरे । विशेष समय लिएर बोल्दै उनले डेंगु लागेका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसित माग गरे ।
‘डेंगुले महामारीको रूप लिइसक्ता पनि सरकार कुहिरोको काग बनेको छ । यसलाई अंग्रेजीमा ‘क्लुलेस’ भनिन्छ । मुलुकका ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन । राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यस्तो विपत्तिको सामना गर्न संकटकाल घोषणा गर्नु पर्छ कि पर्दैन ?’ डेंगुबाट मुलुकभर ६ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै उनले भने– ‘कति जनाको मृत्यु भएपछि महामारीको रूप लिन्छ ?’
उनले बाँके–बर्दियामा डेंगु फैलँदा समयमै सरकारले नियन्त्रणको प्रभावकारी प्रयास नगर्दा मुलुकभर महामारीको रूप फैलिएको बताए । उनले ३ सय ५० रुपैयाँमात्र पर्ने डेंगु जाँच गर्ने किटको प्राइभेट अस्पतालहरूले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको उल्लेख गर्दै बिपतका बेला कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारसित माग गरे ।
अधिकारीले डेंगु नियन्त्रणका लागि सरकारले के गरिरहेको छ भन्नेबारेमा सिंगो संसद र आमजनताले जान्न चाहेको बताए । उनले डेंगु परीक्षणको सुविधा नभएका जिल्लाहरूमा संक्रमण नियन्त्रण गर्न सरकारले चालेको कदमबारे सदनलाई जानकारी गराउनसमेत माग गरे ।

No comments:

Post a Comment