Friday, September 6, 2019

प्रधानमन्त्री आज आउने

काठमाडौं, १९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार फर्कने भएका छन् । उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न थाई एयरवेजबाट आइपुग्ने बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको हो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए ।
स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका सत्तारूढ नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडलसमेत प्रधानमन्त्रीसँगै फर्कने जानकारी स्रोतले दिएको छ । प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन् ।

No comments:

Post a Comment