Sunday, September 8, 2019

संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’


सबै मन्त्रालयका तर्फबाट निर्देशन
  • सम्पूर्ण सरकारी कर्मचारी औपचारिक पोशाकमा झन्डासहित सहभागी हुन
  • ‘निजी क्षेत्र, सामुदायिक तथा गैरसरकारी क्षेत्रका कर्मचारी र कामदारलाई झन्डा र टिसर्टसहित उपस्थित हुन
  • निजी क्षेत्र, गैरसरकारी संघसंस्था र सामुदायिक तथा निजी विद्यालयलाई राष्ट्रिय झन्डा अंकित टिसर्ट बनाएर बाँड्न
  • घरघरमा झन्डा फहराउन र तीन दिनसम्म दिपावली गर्न, सबै गाडीमा झन्डा फहराउन
  • गृह मन्त्रालयको वेबसाइटमा चार प्रकार टिसर्टको नमुना सार्वजनिक
  • कार्यक्रममा सरकारी कर्मचारीबाहेक अरूलाई उपस्थित होऊ भन्नु गलत ः पूर्वगृहसचिव कुसुम
  • झन्डा र टिसर्टसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको हो, अनिवार्य गरेको होइन ः गृह मन्त्रालय
  • ‘निजी क्षेत्र र गैरसरकारी क्षेत्रले जिज्ञासा राख्न थालेकाले झन्डा र टिसर्टको नमुना सार्वजनिक’
काठमाडौं, २१ भदौ– सरकारले सम्पूर्ण सरकारी तथा संगठित निजी क्षेत्रका कर्मचारी र कामदारहरूलाई संविधान दिवस कार्यक्रममा अनिवार्य सहभागी हुन उर्दी जारी गरेको छ । मुलुकमा लोकतन्त्र स्थापना भएपछि पहिलोपटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारी र कामदारलाई अनिवार्य रूपमा संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको हो ।
सर्कुलरमा सबै सरकारी कर्मचारीहरूलाई सांस्कृतिक र राष्ट्रिय पोशाकमा राष्ट्रिय झण्डासहित ¥याली गर्दै असोज ३ गते संघ, प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने समारोहस्थलमा सहभागी हुन निर्देश गरिएको छ ।
संविधान दिवस मूल समारोह समितिको निर्णयअनुसार सबै मन्त्रालय र केन्द्रीय कार्यालयहरूले हालै सर्कुलर नै जारी गरी आ–आफ्ना मातहतका कार्यालय, संस्थान, सरकारी तथा अर्धसरकारी संस्थान, विकास समिति र तिनका कर्मचारीहरूलाई संघ, प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने संविधान दिवस कार्यक्रममा अनिवार्य सहभागी हुन उर्दी जारी गरेका हुन् ।

सम्पूर्ण मन्त्रालय र केन्द्रीय निकायले आ–आफूसँग सरोकार राख्ने निजी क्षेत्रका सम्पूर्ण उद्योगधन्दा, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी संघसंस्था र तिनका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा राष्ट्रिय झन्डासहित अनिवार्य सहभागी हुन सर्कुलर जारी गरेका छन् ।
‘पञ्चायती शैली’ मा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई राष्ट्रिय झन्डासहित औपचारिक पोशाकमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन जारी गरिएको छ । सरकारले सम्पूर्ण निजी उद्योग–प्रतिष्ठान र गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था, निजी तथा सामुदायिक विद्यालयलाई संविधान दिवसका दिन राष्ट्रिय झन्डा अंकित टिसर्ट वितरण गर्नसमेत उर्दी जारी गरेको छ ।

गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका चार प्रकारका नमुना बनाई आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । गृह मन्त्रालयले शुक्रबार ‘संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रयोग गरिने टिसर्टको नमुना’ सार्वजनिक गरेको हो । टिसर्टको छातीको बाया“पट्टि झन्डा अंकित छ ।
गृह मन्त्रालयले संविधान दिवसका दिन कार्यालय, घर र हातहातमा फहराउने झन्डाको साइजसमेत तोकेर सार्वजनिक गरेको छ । मूल समारोह समितिका तर्फबाट मुलुकभर चल्ने सरकारी, निजी तथा सार्वजनिक यातायातका गाडीमा समेत झन्डा फहराउन सर्कुलर गरिएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय र नेपाली नागरिकले घरघरमा फहराउने झन्डाको लम्बाइ ४ फिट र चौडाइ ३ फिट हुनुपर्ने उल्लेख छ । राष्ट्रिय दिवसका दिनमा नेपाली नागरिकले हातहातमा फहराउने झन्डाको साइज ३० सेन्टिमिटर लम्बाइ र २० सेन्टिमिटर चौडाइको हुनु पर्ने गृह मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।
संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते साँझमा हरेक घरघरमा तीन दिपावली गर्नसमेत आह्वान गरिएको छ । संविधान दिवसका दिन घरघरमा झन्डा फहराउनसमेत आह्वान गरिएको छ । सरकारले मुलुकभरका संविधान दिवसका अवसरमा मठमन्दिर, चर्च, मस्जिद, बौद्ध बिहार, गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्नसमेत आह्वान गरेको छ ।

मूल समारोह समितिको निर्णयअनुसार सरकारले संविधान दिवसका दिनदेखि मुलुकभर सबै सिनेमा हलमा फिल्म सुरु हुनुअगाडि अनिवार्य रूपमा राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउनसमेत निर्देशन दिइसकेको छ ।
गृह मन्त्रालयका एक पूर्व सचिवले संविधान दिवसका दिन ठूलो भीड जम्मा गर्न झन्डा र टिसर्टसहित सरकारी तथा निजी र गैरसरकारी क्षेत्रका कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी नै जारी गर्नु र आमजनतालाई समेत घरघरमा झन्डा फहराएर दिपावली गर भनेर आह्वान गर्नुलाई पञ्चायती शैलीको संज्ञा दिएका छन् ।

‘आमजनताको ठूलो संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट त्यसअनुरूपको संविधान जारी भएको हो । आमजनताले संविधान दिवस कसरी मनाउने भन्ने कुरा सरकारले लादने कुरा होइन’ ती पूर्व सचिव भन्छन्– ‘संविधान दिवस यसरी मनाऊ, झन्डा र टिसर्ट यस्तो लगाऊ भन्नु लोकतान्त्रिक होइन पञ्चायती शैलीबाहेक केही होइन । उर्दी नै जारी गरेर ठूलो भीड देखाउनुको कुनै अर्थ हुन्न, यो लोकतान्त्रिक चरित्र पनि होइन ।’
ती पूर्वसचिवका अनुसार पञ्चायतकालमा संविधान दिवसलगायतका उत्सवमा सरकारी कर्मचारीहरूलाई उर्दी नै जारी गरेर ठूलो भीड देखाउने प्रवृत्ति थियो । कर्मचारीलाई जबर्जस्ती कार्यक्रममा पूरै अवधि बसाउनका लागि टु“डिखेल भित्र छिर्दा र बाहिर निस्क“दा दोहोरो हाजिर गराउने गरिन्थ्यो ।

पूर्व गृह सचिव गोविन्द कुसुमले सरकारले भव्यतापूर्वक मनाउन लागेको संविधान दिवस कार्यक्रममा आफ्ना सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित होऊ भन्नुलाई अन्यथा भन्न नमिले पनि निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामुदायिक तथा निजी स्कुलका विद्यार्थीलगायतलाई सहभागी हुन उर्दी जारी गर्नुलाई लोकतन्त्रसंगत काम भन्न नमिल्ने टिप्पणी गर्छन् ।
गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यले मूल समारोह समितिले संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा भव्यतापूर्वक मनाउन निजी क्षेत्रसहित सबैलाई आह्वान गरिएको जानकारी दिए । मुलुकभरका स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संघसंस्थालाई राष्ट्रिय झन्डा अंकित टिसर्ट लगाएर संविधान दिवस कार्यक्रममा सहभागी हुन आह्वान गरिएको जानकारीसमेत उनले दिए । उनले मुलुकभरका सवारी साधनलाई संविधान दिवसका दिन झन्डा फहराउन आग्रह गरिएकोसमेत बताउ“छन् ।

‘मूल समारोह समितिका तर्फबाट निजी क्षेत्र, गैरसरकारी संघसंस्था, निजी तथा सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय झन्डा अंकित टिसर्टसहित संविधान दिवस समारोहमा सहभागी हुन आह्वान गरिएको हो । अनिवार्य गरिएको होइन । सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ’ उनले कान्तिपुरसित भने– ‘मुलुकभरका सवारी साधनलाई समेत उक्त दिन झन्डा फहराउन आग्रह गरिएको छ ।’ संविधान दिवसलाई झन्डामय बनाउन सबैलाई झन्डासहित सहभागी हुन आह्वान गरिएको जानकारीसमेत आचार्यले दिए ।
मुलुकभरबाट निजी क्षेत्रका उद्योग प्रतिष्ठान र गैरसरकारी संघसंस्थाका आग्रहमा संविधान दिवसका दिन फहराउने झन्डाको साइज र लगाउने टिसर्टको नमुना सार्वजनिक गरिएको दाबीसमेत आचार्यको छ । ‘निजी क्षेत्र र धेरै संघसंस्थाबाट संविधान दिवसका दिन कस्तो टिसर्ट र कत्रो झन्डा प्रयोग गर्ने भनेर जिज्ञासा आयो । त्यही कारण गृह मन्त्रालयले टिसर्टको नमुना र झन्डाको साइज तोकेर सार्वजनिक गरेको हो’ उनले भने ।
गृह मन्त्रालयका अनुसार संविधान दिवसको मूल नारा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं । घरघरमा राष्ट्रिय झन्डा फहराऔं, घरघरमा दिपावली गरौं’ तय गरिएको छ ।

No comments:

Post a Comment