Friday, September 6, 2019

घूस लिने ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय कुसुम्हाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षक सरुवा रमाना दिने क्रममा ६५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध समेत मुद्दा दायर गरेको छ । ५ सय ५ जना कृषकले सरकारलाई बुझाएको राजस्व ६३ हजार ५ सय ७७ रुपैयाँ बोर्डको बैंक खातामा दाखिला नगरी हिनामिना गरेकाले चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले मालपोत कार्यालय मनमैजु, काठमाडौंका नायव सुब्बा कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीविरुद्ध मुद्दा दायर गरेको छ । जग्गा रोक्का राख्न सहज गरिदिने नाममा भण्डारी र केसीले सेवाग्राहीसँग ३५ हजार घूस लिएको पुष्टि भएकाले उनीहरू मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी अख्तियारले मालपोत कार्यालय टीकापुरका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेविरुद्ध समेत मुद्दा दायर गरेको छ । कुँवर र पाण्डेले जग्गा नापजाँच गरिदिएबापत सेवाग्राहीससित घूस लिई भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment