Monday, October 1, 2018

मालपोत प्रमुखसहित चार जना पक्राउ

काठमाडौं, १४ असोज– नेपाल प्रहरीको महानगरीय वृत्त, गौशालाले मालपोत कार्यालय, चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई आइतबार पक्राउ गरेको छ । वृत्तले उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा रजिस्ट्रेसन पार गरेको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ परेकामा मालपोत प्रमुख तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायव सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूसितको बयानबाट मालपोत प्रमुख तिम्सिनासहितको समेत संलग्नता रहेको पाइएकाले उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । मालपोतका प्रमुख र कर्मचारीहरूको मिलेमतोमा गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई ४० आना क्षेत्रफलको तीन कित्ता जग्गा ध्रुवप्रसाद भट्टराई र श्रीकृष्ण देवकोटाको नाममा रजिस्ट्रेसन पास गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखी लिखत सम्बन्धी कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment