Sunday, October 14, 2018

काष्ठमण्डप पुनःनिर्माण गर्न थप ५ करोड निकासा

काठमाडौं, २७ असोज– काठमाडौं महानगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माण गर्न जनस्तरमा गठित समितिलाई ५ करोड रुपैया“ थप रकम निकासा गरेको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमद्वारा शनिबार आयोजित कार्यक्रममा महानगर प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोडको चेक हस्तान्तरण गरे ।
सरकारी तथा नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई मौलिक स्वरूपमा छिटो र दिगो रूपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य शाक्यको नेतृत्वमा गठित जनस्तरीय समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गत जेठ २९ मा काम थालनी गर्न ५० लाख रुपैया“ उपलब्ध गराइएको थियो । उक्त रकमबाट काठ किन्नेलगायतका काम भइसकेकाले महानगरले थप बजेट निकासा गरेको हो ।

मेयर शाक्यले १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुनर्निर्माण महानगरले जनस्तरीय समितिको माध्यमबाट आफ्नै खर्चमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । २०७५ वैशाख १८ मा काठमाडौं क्षेत्र नं. ८ क का प्रदेशसभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय समिति र महानगरबीच पुनर्निर्माण गर्ने सहमति भएको थियो । सहमतिपत्रमा संस्कृति मन्त्रालय, पुनःर्निर्माण प्राधिकरण र पुरातत्व विभागको परामर्श र काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी र नागरिक संघसंस्थाको सहयोग तथा सहभागितामा काष्ठमण्डपको पुनःनिर्माण गरिने उल्लेख छ ।

No comments:

Post a Comment