Friday, October 26, 2018

दुई सचिवको जिम्मेवारी खोसियो

सहरी विकासमा सिंह र स्वास्थ्यमा प्याकुरेल 
काठमाडौंं, ७ कात्तिक– सरकारले संघीय समाजवादी फोरमका दुई मन्त्रीले सम्हालेका दुवै मन्त्रालयका सचिवलाई बुधबार दायित्वविमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेको छ ।
प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शर्मा र चौधरीलाई कुनै जिम्मेवारी दिइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासनिक तथा इन्जिनियरिङ क्लस्टरका सचिवको दरबन्दी भए पनि स्वास्थ्य सचिवको भने छैन ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईको दबाबमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको निर्णयबिना नै कारबाहीको शैलीमा दुवै सचिवलाई मन्त्रिपरिषद कार्यालयमा तानेका हुन् । कानुनतः मन्त्रिपरिषदको निर्णयबिना सचिवहरूको सरुवा गर्न मिल्दैन । प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयको माइन्युटमा राखेर उनीहरूको सरुवा मिलाउने जानकारी स्रोतले दिएका छन्।
यादव र राईले आ–आफ्ना मन्त्रालयका सचिवको काम सन्तोषजनक नभएको दाबी गर्दै अन्यत्र सरुवा गरिदिन लामो समयदेखि प्रधानमन्त्रीलाई दबाब दिंदै आएका थिए । दुवै मन्त्रीले आ–आफ्नो स्वार्थअनुरूप काम गर्न चौधरी र शर्मा तयार नभएकाले उनीहरूलाई सरुवा गराएका हुन् ।
्नेपाल ट्रष्टको कार्यालयका सचिव रमेश सिंहलाई सहरी विकास मन्त्रालयमा सारिएको छ । सिंहले बुधबार नै सहरी विकासमा पुगेर जिम्मेवारी सम्हालिसकेका छन् । स्वास्थ्य मन्त्रालयमा १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ । 


No comments:

Post a Comment