Sunday, October 7, 2018

पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकार नालायक : देउवा

‘सुदूरपश्चिमको राजधानी धनगढी नै उपयुक्त’
काठमाडौं, २० असोज– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साढे दुई महिना भइसक्ता पनि किशोरी निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने दोषीलाई गृह प्रशासनले पक्राउ गर्न नसकेकामा आपत्ति प्रकट गर्दै वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।
नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिद्वारा शनिबार संघीय राजधानीमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर नहुनुले आमजनतामा प्रधानमन्त्री केपी ओलीमाथिको विश्वसनीयतामाथि प्रश्न उठन थालेको बताए ।
उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकामा समेत आपत्ति प्रकट गरेका छन् । उनले वातावरणीयलगायतका कुनै पनि दृष्टिमा उपयुक्त नभएको ठाउ“ गोदावरीलाई प्रदेशसभाको दुई तिहाइले सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको उल्लेख गर्दै उक्त निर्णयको विरोधमा उत्रन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

‘रूख काटेर आर्थिक लाभ लिने र ऐश आराम गर्ने नियतका साथ नेकपाले गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको हो । हाम्रो पार्टीको सम्पूर्ण पंक्ति यो निर्णयको विरोधमा उत्रनुपर्छ ताकि निर्णय फिर्ता लिन बाध्य पार्न सकियोस्’ देउवाले भने । उनले सुदूरपश्चिम प्रदेशको राजधानी सबै दृष्टिले धनगढी नै उपयुक्त रहेको दाबी गरे ।

No comments:

Post a Comment