Wednesday, October 3, 2018

१०५ दिनमै फास्ट ट्रयाकको डीपीआर

नेपाली सेना र कोरियाली कम्पनीबीच सम्झौता
काठमाडौं, १६ भदौ– नेपाली सेनाले संघीय राजधानीलाई तराई–मधेससित जोडने रणनीतिक महत्वको द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई दिएको छ । ग्लोबल प्रतिस्पर्धाबाट छानिएको कोरियाको सुसोङ इन्जिनियरिङ कम्पनी र नेपाली सेनाबीच मंगलबार डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाली सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खा“ण र कम्पनीका अध्यक्ष किहायन हवाङले हस्ताक्षर गरेका छन् । कोरियाली कम्पनीले १० करोड १२ लाख ७८ हजार ९३२ रुपैया“को लागतमा ७६ किमी लम्बाइको फास्ट ट्रयाकको डीपीआर निर्माण गर्नेछ ।
सम्झौताअनुसार सुसोङ इन्जिनियरिङले कात्तिक ४ देखि डीपीआर निर्माणको काम थाल्नेछ । काम सुरु गरेको १ सय ५ दिनमै कम्पनीले डीपीआर तयार पारेर नेपाली सेनालाई बुझाउने सम्झौतामा उल्लेख छ ।

यसअघि निर्माणको जिम्मेवारी पाएको भारतीय कम्पनी आईएल एन्ड एफएसले डीपीआर तयार गरेको थियो । भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माण गर्न दिने निर्णय विवादमा परेपछि सरकार आफैंले बनाउने निष्कर्षमा पुगेर सेनालाई जिम्मा दिएको हो ।
नेपाली सेनाले भारतीय कम्पनी आईएल एन्ड एफएससित डीपीआर खरिद गर्न प्रयास गरेको थियो । उससित मूल्यमा सहमति नभएपछि सेनाले ग्लोबल टेन्डर गरी डीपीआर तयार गर्न परामर्शदाता कम्पनी छनोट गरेको हो ।
फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको १३ महिनापछि सेनाले डीपीआर बनाउन कोरियाली कम्पनीसित सम्झौता गरेको हो । एसियाली विकास बैंकको सहयोगमा सन् २००८ मा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधार सेनाले सुरुमा ट्रयाक खोल्ने र अहिले त्यसलाई स्तरोन्नति गर्ने काम गर्दै आएको छ । 

No comments:

Post a Comment