Monday, October 29, 2018

पराजुलीको पेन्सनपट्टा सार्वजनिक गर्न डा. केसीको माग

काठमाडौंं, ११ कात्तिक– चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले विवादित पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पेन्सनसम्बन्धी निर्णय सार्वजनिक गर्न माग गरेका छन् । केसीसहितको टोलीले आइतबार निजामती किताबखानामा गएर महानिर्देशकलाई पत्र बुझाई पराजुलीले पेन्सनपट्टा लिएकोसम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
किताबखानाले २०७४ फागुन ३० लाई नै अवकास मिति कायम गरी पराजुलीलाई दिइएको पेन्सन पट्टा र त्यससम्बन्धी निर्णय सार्वजनिक गर्न पत्रमा माग गरिएको छ । पराजुलीले अवकाश लिएको सम्बन्धमा भएको निर्णय, पत्राचार र त्यसको आधार, प्रमाणसहितको प्रतिलिपिसमेत सार्वजनिक गर्नुपर्ने माग केसीको छ । 
न्यायपरिषदले वास्तविक जन्ममितिका आधारमा पराजुलीको अवकास मिति साउन २१ गतेलाई कायम गरेको थियो । पराजुलीले न्याय परिषदको निर्णयविपरीत कानुन मिचेर पुरानै जन्ममितिका आधारमा पेन्सनपट्टा बुझेपछि उनी पुनः विवादमा तानिएका छन् ।् पत्रमा किताबखानाका महानिर्देशक जयनारायण आचार्यले कानुनविपरीत पराजुलीलाई विवादास्पद जन्ममिति राखी पेन्सनपट्टा दिएको उल्लेख छ ।

‘विवादास्पद पूर्वप्रधानन्यायाधीश पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम भइसकेकामा त्यस विपरीत हालैमात्र दुषित आधार प्रमाण खडा गरी गराई यस कार्यालयमा निजले अवकाश मिति २०७४ फागुन ३० गते कायम गरी पेन्सनपट्टा लिएको जानकारी हुन आयो, उक्त कार्य गम्भीर सार्वजनिक सरोकारको विवाद हो ।’
केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी र सुरेशकुमार मुडभरीले सूचनाको हकसम्बन्धी कानुनबमोजिम संयुक्त रूपमा पराजुलीको अवकाशसम्बन्धी निर्णयको प्रतिलिपि माग गरेका हुन् ।
न्याय परिषदले ६५ वर्ष पूरा गरी पराजुलीले साउन २१ मा नै अवकास पाइसकेको पत्र २०७४ फागुन ३० मा बुझाएको थियो । पराजुलीले सोही दिन पुननिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई सपथग्रहण गराएका थिएका थिए । 

No comments:

Post a Comment