Wednesday, October 24, 2018

दुई महिनाभित्रै ५ लाखलाई स्मार्ट लाइसेन्स

काठमाडौं, ६ कात्तिक– यातायात व्यवस्था विभागले लामो समयदेखि प्रतिक्षा सूचीमा रहेका ५ लाखभन्दा बढी सेवाग्राहीलाई अबको दुई महिनाभित्रै स्मार्ट लाइसेन्स प्रदान गर्ने भएको छ । विभागका अनुसार ट्रायल परीक्षा उत्तीर्ण गरी एक वर्षदेखि प्रतीक्षा सूचीमा रहेका सेवाग्राहीको संख्या ५ लाखभन्दा बढी पुगिसकेको छ ।
विभागले स्मार्ट लाइसेन्स छिटो उपलब्ध गराउने उद्देश्यले निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई छाप्ने जिम्मेवारी दिएको छ । उक्त कम्पनीसित ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड लाइसेन्स छापिसक्ने सम्झौता भएको विभागले जनाएको छ । कम्पनीले विभागको मिनभवनस्थित कार्यालयमै कार्ड छाप्ने छ । 
कम्पनीले एउटा स्मार्ट कार्ड छापेबापत १५ रुपैया“का दरले शुल्क पाउने सम्झौतामा उल्लेख छ । कार्ड छाप्ने विशेष खालको कागज, विद्युतलगायत भौतिक सामग्री भने विभागले नै कम्पनीलाई उपलब्ध गराउनेछ । 

ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सबै सेवाग्राहीलाई दुई महिनाभित्रै स्मार्ट चालक अनुमतिपत्र दिन विभागले छोटो प्रक्रियाबाट कम्पनी छनौट गरिएको दाबी गरेको छ । लामो समयदेखि प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीहरूको समस्या समाधान भएपछि विभागले अत्याधुनिक उपकरणमार्फत दैनिक ८ हजार कार्ड छाप्ने तयारीसमेत गरेको छ । त्यसका लागि विभागले स्मार्ट कार्ड छाप्ने नया“ कम्पनी छनौट गर्न टेन्डर आह्वान भइसकेकोसमेत जनाएको छ । 

No comments:

Post a Comment