Monday, July 29, 2019

जडिबुटीबाट औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन् : प्रधानमन्त्री

काठमाडौं, ११ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पुर्खाहरूकै प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिका रूपमा उपयोग गर्न थालिएको बताएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटनका अवसरमा शनिबार उनले उच्च प्रविधियुक्त अस्पतालले नेपालीलाई विद्वान् पुर्खाको विरासत स्मरण गराएको धारणा राखे ।
‘नेपालीका पुर्खा विद्वान् भएका थुप्रै प्रमाण छन् । उनीहरूले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिका रूपमा प्रयोग गरे,’ उनले भने, ‘त्यति बेला कुनै प्रयोगशाला थिएनन् । जडिबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर उनीहरूले औषधि र विष छुट्याइदिए ।’ पुर्खाको विद्वत्ता एवं ज्ञानलाई वर्तमान पुस्ताले पुनः प्राप्ति गर्न थालेको उनको भनाइ छ । 

‘हामीस“ग पुर्खाहरूको जेनेटिक मेमोरी पनि छ । त्यसकारण पनि हामीलाई विद्वत्ताका कुरा ग्रहण गर्न समय लाग्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘औषधोपचार र अंग प्रत्यारोपणमा अस्पतालले पाएको सफलता त्यसकै एउटा उदाहरण हो ।’ कसैप्रति भेदभाव नराखी सबैको उपचार गर्न उनले आग्रह गरे । ‘अस्पतालले देश वा नागरिकताका आधारमा होइन, सबैलाई समानभावले उपचार गर्नेछ,’ उनले भने ।

No comments:

Post a Comment