Friday, July 12, 2019

दुतावासको पत्रबारे मलाई जानकारी नगराउनेलाई कारबाही गर्छु : प्रधानमन्त्री

‘विषादी प्रकरणमा लज्जित छु, जनतासित क्षमा माग्छु’
काठमाडौं, २६ असार– प्रधानमन्त्री केपी ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे मन्त्रालयहरूबाट आफूलाई बेलैमा जानकारी नगराइएका कारण आफू नेपाली जनतासामु लज्जित हुनुपरेको बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रियामा बोल्दै ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै त्यसप्रति जनतासामु माफी मागेका छन् ।
उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सिमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नगराउनेमाथि कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
ओलीले भारतीय दूतावासको पत्रबारे आफूलाई जानकारी नगराई अन्धकारमा राख्नेहरूका बारेमा खोजी गरिने बताए । ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी दिइएन । पत्र आएर पनि मलाई झूटो बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्छु’ प्रधानमन्त्रीले भने ।
उनले भारतीय दूतावासको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराइएकै कारण आफूले नेपाली जनतासामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिएको दाबी गरे । ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमै बोलें’ उनले भने– ‘विभिन्न ठाउ“मा कूटनीतिक प्रयास भएको रहेछ, तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुप¥यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’
उनले नेपाली जनताको भान्सामा विषादी पुग्न दिनुहुन्न भन्ने पहिलो प्रधानमन्त्री आफू नै भएको दाबी गर्दै आफ्नाविरुद्ध चलाइएको कुनै पनि मिसन पूरा हुन नदिने बताए । उनले आफूविरुद्ध मुलुकमा मिसन पत्रकारितका सुरु भएको दाबीसमेत गरे ।
प्रधानमन्त्री ओलीले कपितयले प्रदेश सरकारलाई स्वतन्त्र सरकारका रूपमा व्याख्या गर्ने गरेकामा आपत्ति प्रकट गर्दै संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताए । उनले संविधानले नै सुरक्षा, परराष्ट्र मामिला तथा आर्थिक अधिकारका विषय संघीय सरकारअन्तर्गत सञ्चालित हुने भनेर प्रदेश सरकारलाई समेत संघीय सरकारकै मातहतमा राखेको बताए ।

No comments:

Post a Comment