Tuesday, July 16, 2019

६५ वर्षमै वृद्धभत्ता दिन कांग्रेसको माग

काठमाडौं, २९ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिन माग गरेको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकमा कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन माग गरेको हो ।
समितिमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलका क्रममा कांग्रेसकी सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखेकी छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको चुनाव भइसकेपछि ६५ वर्ष पूरा भएका नागरिकलाई समेत वृद्धभत्ता दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी ओली सरकारले देउवा नेतृत्वको तत्कालीन काम चलाउ सरकारले गरेका सबै निर्णय खारेज गर्दा ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिने निर्णयसमेत उल्टिएको थियो ।
कांग्रेसले समितिमा आफ्नो त्यही पुरानो अडान दोहो¥याएको हो । भुसालले भौगोलिक कठिनता र औसत आयु कम भएका क्षेत्रलाई हेरेर ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई भत्ता दिनु पर्ने धारणा राखेकी थिइन् ।
उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकाप्रति समेत आपत्ति जनाइन् । ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्न नहुने तर्क उनको थियो ।
सत्तारूढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले समेत ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्ने विधेयकको प्रावधान गलत रहेको बताइन् ।
सरकारले पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ ।
उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने, तर ज्येष्ठ नागरिकहरूमाथि नै विभेद हुने प्रावधान भने राख्न नहुने बताइन् ।

No comments:

Post a Comment