Friday, July 26, 2019

निर्मलालाई न्याय दिन सरकार पूर्णतः असफल : कांग्रेस

काठमाडौं, ९ साउन– प्रमुख प्रतिपक्ष कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार असफल भएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
‘निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैरजिम्मेवार जवाफ दएर सरकारको कर्तव्य पूरा हुन्न,’ विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेस प्रश्न गर्न चाहन्छ– संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट आपत्तिजनक छ नै, जिम्मेवार राज्यले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ?’
कांग्रेसले निर्मला प्रकरणजस्ता घटनालाई नियन्त्रित र निरुत्साहित गर्ने कार्यमा प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत सरकार असफल भएको दाबी गरेको छ । विज्ञप्तिमा एक वर्षको अवधिमा सरकारले दोषी जोगाउने प्रपञ्च, निर्दोषलाई दोषी ठह¥याउने प्रयत्न गरेको समेत आरोप लगाएको छ ।

No comments:

Post a Comment