Wednesday, July 10, 2019

सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं, २४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ती सबैले घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।
अख्तियारले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय किर्तिपुरका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पटेलले कलेज सञ्चालनको अनुमतिपत्र रद्द हुन सक्छ भन्ने डरत्रास देखाई सञ्चालकसित ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीवरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । सतरा, नगरपालिकाकै नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोले विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले रोल्पाको माडी–लुंग्री–करिडोर सिंचाइ आयोजनाका डिभिजनल इन्जिनियर उग्रनाघ झा र इन्जिनियर तारा श्रेष्ठविरुद्ध मंगलबार नै मुद्दा दायर गरेको छ । झा र श्रेष्ठले मिलेमतोमा योजनाको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियाले उल्लेख गरेको छ ।
अख्तियारले सवडिभिजन वन कार्यालय, दाङका सहायक वन अधिकृत रामाज्ञा प्रसाद साहविरुद्ध मुद्दा दायर गरेको छ । साहले देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता, स्वीकृत र सिफारिस गरिदिएबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले तीनवटा घटनामा घुस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध तीनवटा छुट्टछुट्टै मुद्दा दायर गरेको छ ।
दुइटा लागू औषध मुद्दामा ७० हजार र ९० हजार तथा सवारी दुर्घटना मुद्दामा ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध तीनवटा छुट्टछुट्टै भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिए । उनका अनुसार अख्तियारले तीनवटा छुट्टछुट्टै अभियोगमा साहविरुद्ध घुस रकम बराबर जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले भोजपुरको हतुवागढी गाउँपालिकाका सवइन्जिनियर नइन्द्र पारुहाङ राईविरुद्ध समेत मुद्दा दायर गरेको छ । राईले सडक निर्माण, स्तरोन्नति र पोखरी निर्माणको मूल्यांकन बिल बनाइदिने क्रममा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएकाले उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

No comments:

Post a Comment